काठमाडौँ,
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित उम्मेदवारलाई यही चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ। समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार आयोग परिसरमा बिहान ११ः३० बजे कार्यक्रम आयोजना गरी निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र प्रदान गरिनेछ।
आयोगले राजनीतिक दलका तर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण सार्वजनिक गर्दै उनीहरू निर्वाचित भएको घोषणा गरिसकेको छ। आयोगले राजनीतिक दलबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र तथा दुईप्रति पासपोर्ट साइजको फोटोसहितको विवरण आजभित्र उपलब्ध गराउन आग्रह गरेको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न छ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १६ सिट, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नौ सिट, श्रम संस्कृति पार्टीले चार सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सिट प्राप्त गरेका छन्।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ। निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फका निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको प्रतिनिधिसभा निर्वाचन प्रक्रिया औपचारिक रूपमा पूर्णता पाउनेछ।