काठमाडौँ,
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि बाह्रसिङ्गा गणना सुरु गरिएको छ। निकुञ्ज कार्यालय, नेपाली सेना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत साझेदार संस्थाको संयुक्त सहभागितामा गणना कार्य सुरु गरिएको हो। यस कार्यका लागि ३५ जना प्राविधिक तथा कर्मचारी परिचालन गरिएको छ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार ‘हेड काउन्ट’ विधिबाट बाह्रसिङ्गा गणना भइरहेको छ। गणनाका लागि मचान, फायरलाइनमा सवारीसाधन तथा हात्तीको प्रयोग गरी अवलोकन गर्ने व्यवस्था मिलाइएको छ।
गणनामा बाइनाकुलर, क्यामेरा, टेलिस्कोप, दूरबिन र ड्रोनको प्रयोग गरिएको छ। दुर्गम तथा पैदल पुग्न नसकिने क्षेत्रमा तीन वटा हात्ती परिचालन गरिएको छ भने फायरलाइनमा दुई सवारीसाधन र चार मचानमा तीन–तीन जनाको प्राविधिक टोली खटाइएको छ।
गणना बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म सञ्चालन भइरहेको छ। यो गणना वैशाख १२ गतेसम्म जारी रहनेछ। गणनाका क्रममा बाह्रसिङ्गाको सङ्ख्या एकिन गर्नुका साथै बासस्थान, आहार तथा जोखिम अवस्थाको समेत अध्ययन गरिने सूचना अधिकारी वाग्लेले बताउनुभयो।
निकुञ्जको मझगाउँ मुख्य कार्यालयदेखि करिब २४ किलोमिटर दक्षिणमा रहेको शुक्लाफाँटा घाँसेमैदान नेपालकै सबैभन्दा ठूलो घाँसेमैदान मानिन्छ। करिब ३४ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यस क्षेत्रमा विश्वकै ठूलो बाह्रसिङ्गा समूह पाइने गरेको छ।
विसं २०८१ मा गरिएको गणनाअनुसार यहाँ २ हजार १८२ बाह्रसिङ्गा रहेका थिए। निकुञ्जका रेञ्जर प्रयास केसीका अनुसार पछिल्ला वर्षहरूमा बाह्रसिङ्गाको सङ्ख्या सन्तोषजनक रहेको छ भने मुख्य घाँसेमैदानबाहेक अन्य क्षेत्रमा पनि तिनीहरू देखिन थालेका छन्।
उहाँका अनुसार यसले संरक्षणको दृष्टिले सकारात्मक संकेत दिएको छ। साथै, गणनालाई घाँसेमैदानमा मात्र सीमित नराखी सम्भावित अन्य क्षेत्रमा समेत विस्तार गरिएको छ।
बाह्रसिङ्गा बाघको प्रमुख आहार प्रजाति भएकाले यसको संरक्षणले बाघ संरक्षणमा समेत सहयोग पुगेको निकुञ्जले जनाएको छ। पर्याप्त आहार र उपयुक्त बासस्थान व्यवस्थापनका कारण निकुञ्जमा बाघको सङ्ख्या समेत बढ्दै गएको बताइएको छ।