धादिङमा यात्रुवाहक बस दुर्घटना, दुई विदेशीसहित १७ जनाको मृत्यु, २६ घाइते उद्धार

mayukarajkumari

मलेखु (धादिङ),

धादिङ
जिल्लाको मलेखु नजिक बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत भएको उक्त दुर्घटनाले क्षेत्रमा शोक छाएको छ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ ख १४२१ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ११ पुरुष र छ महिलाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये एक पुरुष र एक महिला विदेशी नागरिक रहेको बताइएको छ।

बसमा कुल ४४ जना सवार रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनापछि घाइते भएका २६ जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। केही घाइतेको स्थानीय अस्पतालमै उपचार गरिएको छ भने गम्भीर अवस्थाका अधिकांशलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जिल्ला प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीको संयुक्त प्रयासमा उद्धार कार्य सञ्चालन गरिएको थियो। घटनास्थलबाट सबै घाइतेको उद्धार कार्य सम्पन्न भएको सुरक्षा निकायले जानकारी दिएको छ।

प्रतिक्रिया