काठमाडौँ,
गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेका विभिन्न आरोप र प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको विस्तृत प्रतिक्रियामा उनले आरोपभन्दा बढी तथ्यमा आधारित बुझाइ आवश्यक रहेको बताएका छन्।
मन्त्री गुरुङले पछिल्ला दिनमा आफ्नो नाम जोडेर विभिन्न चर्चा भइरहेको उल्लेख गर्दै विषयलाई गलत ढंगले प्रस्तुत गरिएको दाबी गरेका छन्। “हल्ला धेरै छन्, तर वास्तविक तथ्य बुझ्न जरुरी छ,” उनले लेखेका छन्।
उनले आफूले २५ लाख रुपैयाँको सेयर लुकाएको भनिएको विषय अस्वीकार गर्दै सम्पूर्ण लगानी पारदर्शी रूपमा सम्पत्ति विवरणमा उल्लेख गरिएको दाबी गरेका छन्। धितोपत्र बजारमा कारोबार हुने सेयरमा आफ्नो २ करोडभन्दा बढी लगानी रहेको र सो विवरण मन्त्रिपरिषद्को वेबसाइटमा समेत हेर्न सकिने उनले उल्लेख गरेका छन्।
मन्त्री गुरुङका अनुसार मन्त्री बन्नुअघि गरिएको सेयर लगानी कानुनी रूपमा बैंकिङ च्यानलमार्फत गरिएको हो। उनले ऋणमार्फत लगानी गरिएको र त्यसको लिखित तमसुक २०८० भदौ २९ को रहेको उल्लेख गर्दै सबै कारोबार बैंकिङ प्रणालीबाट पारदर्शी भएको दाबी गरेका छन्।
विवादित व्यक्तिसँग साझेदारी गरेको आरोपबारे उनले सेयर लगानीलाई साझेदारीसँग तुलना गर्नु गलत हुने बताएका छन्। एउटै कम्पनीमा धेरै लगानीकर्ता हुने भएकाले त्यस आधारमा सबैलाई एउटै रूपमा दोषी ठहर गर्न नसकिने उनको भनाइ छ।
‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सम्बन्धी प्रश्नमा उनले सम्बन्धित छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धिकरण विभाग रहेको र सोही निकायले प्रक्रिया अघि बढाइरहेको जानकारी दिएका छन्। कुनै हस्तक्षेप नभएकाले छानबिन स्वतन्त्र रूपमा अघि बढिरहेको उनले दाबी गरेका छन्।
लगानीको पृष्ठभूमि नजाँची गरिएको आरोपबारे उनले व्यापारिक लगानीमा जोखिम स्वाभाविक हुने भन्दै पछिल्ला घटनालाई अघिल्लो निर्णयको आधारमा दोष लगाउनु उचित नभएको टिप्पणी गरेका छन्। उनले प्रतिक्रिया नदिएको विषयमा पनि कानुनी संवेदनशीलता र प्रमाणको आवश्यकता भएकाले हतारमा बोल्नु उपयुक्त नहुने बताएका छन्।
अन्त्यमा मन्त्री गुरुङले आरोप र सत्य एउटै नभएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्नेमा जोड दिएका छन्। साथै, पार्टीले गर्ने निर्णयको पूर्ण पालना गर्ने र अनुसन्धानमा सहयोग गर्न तयार रहेको पनि उनले स्पष्ट पारेका छन्।