काठमाडौँ उपत्यकामा २४ घण्टामा ३ हजार ५०१ सवारी चालक कारबाहीमा

mayukarajkumari

काठमाडौँ, 

उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र ३ हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ। विभिन्न ट्राफिक नियम उल्लङ्घनका घटनामा उनीहरूलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन (मापसे) मा ७७ जना, अवस्था ठीक नभएका ६९ जना, रातो बत्ती उल्लङ्घन गर्ने १५८ जना र तीव्र गतिमा सवारी चलाउने ८९ जना कारबाहीमा परेका छन्।

त्यस्तै लेन अनुशासन उल्लङ्घन गर्ने १७२ जना, ढोका खुला राखेर सवारी चलाउने ५७ जना, नो हर्न नियम उल्लङ्घन गर्ने ७७ जना तथा ओराल्ने र चढाउने स्थानमा नियम नमान्ने ५५ जनालाई पनि कारबाही गरिएको छ।

अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ७४७ जना गरी कुल ३ हजार ५०१ जना सवारी चालकलाई कारबाही गरिएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो।

उहाँका अनुसार उक्त अवधिमा गरिएको कारबाहीबाट रु २५ लाख १५ हजार ५०१ राजस्व सङ्कलन भएको छ। ट्राफिक प्रहरीले सडक सुरक्षा र अनुशासन कायम गर्न नियमित रूपमा निगरानी र कारबाही अभियानलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया