नेपालगञ्जमा १०८ फिट अग्लो हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

mayukarajkumari

काठमाडौँ,

नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित हनुमानगढीमा निर्माणाधीन १०८ फिट अग्लो हनुमानको मूर्ति अन्तिम चरणमा पुगेको छ। धार्मिक तथा पर्यटकीय महत्व बोकेको उक्त परियोजना अन्तर्गत मूर्ति निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ।

उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माका अनुसार उक्त मूर्ति निर्माणका लागि रु १४ करोड ४ लाख ६३ हजार लागत लाग्ने अनुमान गरिएको छ। पहिलोपटक २०७९ चैत ३ गते निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। सुरुमा २०८१ चैत २ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा समयावधि थप गरी २०८३ असोज ३० सम्म विस्तार गरिएको छ।

मूर्ति निर्माणका कालीगढ दिलवीर सुनार ‘सेन्चुरी’ का अनुसार हनुमानगढी परिसरमा मूर्ति निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न भइसकेको छ। अबको करिब डेढ महिनाभित्र मूर्ति हस्तान्तरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भारतको अयोध्यामा राम मन्दिर निर्माण भएपछि राम–हनुमानको धार्मिक सम्बन्धलाई जोड्दै नेपालगञ्जलाई अयोध्यासँग धार्मिक रूपमा जोड्ने उद्देश्यसहित यो मूर्ति निर्माण गरिएको बताउनुभयो। उहाँका अनुसार यसले नेपालगञ्जको धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

हनुमानगढीका थानापति महन्थ उमेश गिरीले यस पवित्र स्थानमा ठूलो संरचना निर्माण हुनु धार्मिक दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँका अनुसार त्रेता युगमा हनुमानजीले अधर्मको नाशमा महत्वपूर्ण भूमिका खेलेको धार्मिक विश्वास यस स्थानसँग जोडिएको छ।

त्यस्तै, हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वराज तिवारीले हनुमानगढीको धार्मिक महत्व बढ्दै जाँदा यसले धार्मिक पर्यटनमा टेवा पुग्ने बताउनुभयो।

फाउन्डेसन र प्लेटफर्मको काम सम्पन्न भइसकेपछि अहिले मूर्ति निर्माणको काम तीव्र रूपमा भइरहेको छ। यस क्षेत्रमा प्रत्येक वर्ष हनुमान जयन्तीका अवसरमा विशेष धार्मिक उत्सवसमेत आयोजना हुँदै आएको छ।

प्रतिक्रिया