लाङटाङ राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह सम्पन्न

mayukarajkumari

काठमाडौँ,

‘सुरक्षित मानिस, संरक्षित वन्यजन्तु’ भन्ने मूल नाराका साथ लाङटाङ राष्ट्रिय निकुञ्जले ३१औँ वन्यजन्तु सप्ताह विविध जनचेतनामूलक कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ।

सप्ताहका अवसरमा जनचेतनामूलक र्‍याली, प्रवचन तथा जङ्गल अवलोकनलगायतका कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममार्फत वन, वन्यजन्तु तथा समग्र जैविक विविधता संरक्षणको महत्वबारे जनचेतना फैलाइएको निकुञ्जले जनाएको छ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, संरक्षण अभियन्ता, स्थानीय बासिन्दा, विभिन्न सङ्घ–संस्था, निकुञ्जका कर्मचारी तथा वन्यजन्तु सुरक्षामा खटिने नेपाली सेनाको सक्रिय सहभागिता रहेको थियो।

जङ्गल क्षेत्रमा प्रवेश गर्दा निकुञ्जको अनुमति अनिवार्य लिनुपर्ने, वनस्पति काट्ने वा नष्ट गर्न नपाइने तथा वन्यजन्तु संरक्षणप्रति सकारात्मक व्यवहार अपनाउनुपर्ने विषयमा पनि जनचेतना फैलाइएको थियो। साथी लिएर मात्र जङ्गल प्रवेश गर्ने संस्कार विकास गर्नुपर्ने आवश्यकता समेत कार्यक्रममा औँल्याइएको छ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहले समुदायको सहभागिता बढ्दै जाँदा संरक्षण अभियान अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार रसुवा, नुवाकोट र सिन्धुपाल्चोकसम्म फैलिएको निकुञ्ज क्षेत्रमा संरक्षण तथा सुरक्षा गतिविधि पछिल्लो समय थप प्रभावकारी बन्दै गएको छ।

त्यस्तै, निकुञ्जका रेञ्जर केशव ढोडारीले हिमाली क्षेत्रको जैविक विविधता संरक्षणका लागि निरन्तर काम भइरहेको जानकारी दिनुभयो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ लागू भएपछि संरक्षित क्षेत्र व्यवस्थापन अझ व्यवस्थित हुँदै गएको उहाँले बताउनुभयो।

नेपालमा हाल १३ वटा राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र तथा दुई वटा वन्यजन्तु सिकार आरक्ष रहेका छन्।

प्रतिक्रिया