"रास्वपाको बहुमतपछि संविधानको धारा ७६ (१) अनुसार नयाँ सरकार गठन प्रक्रियामा"

mayukarajkumari

काठमाडौँ,

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ। निर्वाचन आयोगले आज राष्ट्रपतिज्यू रामचन्द्र पौडेललाई मतपरिणामसहितको प्रतिवेदन बुझाएका छन्।

मतपरिणाम राष्ट्रपतिलाई बुझाएसँगै मुलुक नयाँ सरकार गठनको प्रक्रियामा अघि बढ्नेछ। पहिलो हुने निर्वाचन (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभामा करिब दुई तिहाइ (१८२) सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका छन्।

रास्वपा प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सांसदमा विजयी भएको छ। नेपाली कांग्रेसबाट ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट २५, नेपाली कम्युनिष्ट पार्टीबाट १७, श्रम संस्कृति पार्टीबाट ७, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ५ र १ स्वतन्त्र सांसद निर्वाचित भएका छन्।

संविधानको धारा ७६ अनुसार मन्त्रिपरिषद् गठनको व्यवस्था छ। उपधारा (१) मा भनिएको छ, “राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ।”

रास्वपा वरिष्ठ नेता बालेन्द्र साहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा होमिएको थियो। प्रधानमन्त्री नियुक्त हुन प्रतिनिधिसभा सदस्य र संसदीय दलको नेता हुनु अनिवार्य छ। रास्वपाले वरिष्ठ नेता साहलाई संसदीय दलको नेताका रुपमा अघि सार्ने तयारी गरेको छ।

एकल बहुमत प्राप्त दल भएकाले संविधानको धारा ७६ (१) अनुसार संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने कानुनविद्हरूको भनाइ छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले सांसदलाई शपथ गराउने र प्रधानमन्त्रीलाई राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ।

डा. खिमलाल देवकोटाका अनुसार, “सांसदको शपथपछि संसदीय दलको नेता चयन हुनेछ र त्यसपछि राष्ट्रपतिले बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुहुन्छ। त्यसपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नुहुन्छ।”

नेपालमा संविधान जारी भएदेखि पहिलोपटक धारा ७६ (१) अन्तर्गत एकल बहुमत प्राप्त दलको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने अवस्था आएको छ। यदि एकल बहुमत नआएको भए धारा ७६ (२) अनुसार दुई वा बढी दलको संयुक्त सरकार गठन गर्ने प्रक्रिया अघि बढाइन्थ्यो।

सङ्घीय संसद् सचिवालयले यही चैत १२ गते नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरेको छ। संसद् सचिवालयले आजै छवटा राजनीतिक दलका प्रतिनिधिसँग अनौपचारिक छलफल गर्दै सांसदको शपथ, अभिमुखीकरण र संसदीय दलसम्बन्धी विषयमा छलफल गर्नेछ।

निर्वाचनको नतिजा प्रकाशन भएको सात दिनभित्र राष्ट्रपतिलाई निर्वाचन आयोगले प्रतिवेदन बुझाउने कानुनी व्यवस्था छ। आयोगले आज समानुपातिक प्रणालीतर्फ निर्वाचित ११० सांसदलाई निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ।

संवैधानिक धारा ९३ (१) अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुपर्नेछ। संसद्को पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ र सात दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाइनेछ। नयाँ संसद् भवन सिंहदरबामा निर्माणाधीन छ, जहाँ अबको संसद् बैठक बस्नेछ।

प्रतिक्रिया