दोधारा चाँदनी (कञ्चनपुर),
कञ्चनपुरमा सिँचाइको पर्याप्त व्यवस्था नहुँदा चैते धानखेती गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयको तथ्याङ्कअनुसार विगतमा करिब ४०० हेक्टर क्षेत्रफलमा हुने गरेको चैते धानखेती अहिले घटेर झण्डै १५० हेक्टरमा सीमित भएको छ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्मबहादुर साउँदका अनुसार हाल जिल्लामा करिब १५० हेक्टर क्षेत्रमा मात्रै चैते धानखेती भइरहेको छ। केन्द्रले किसानलाई विभिन्न कृषि उपकरण र सिँचाइका लागि बोरिङलगायत सुविधा उपलब्ध गराउँदै आए पनि पर्याप्त सिँचाइ अभावका कारण चैते धानखेती विस्तार हुन नसकेको उहाँले बताउनुभयो। ज्ञान केन्द्रले किसानलाई ५० प्रतिशत अनुदानमा सिँचाइका लागि बोरिङ उपलब्ध गराए पनि त्यसले आवश्यक मात्रामा पानी उपलब्ध गराउन नसकेको साउँदको भनाइ छ।
कृषि ज्ञान केन्द्रले चैते धानखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानलाई बीउ, मलखाद, सिँचाइ र जोत्ने उपकरणमा सहयोग गर्दै आएको छ। अधिकृत साउँदका अनुसार चैते धान अन्य धानभन्दा बढी उत्पादन दिने बाली भए पनि सिँचाइ अभावका कारण किसानले यसको खेती विस्तार गर्न सकेका छैनन्। किसानलाई प्राविधिक सहयोग पनि उपलब्ध गराइँदै आएको केन्द्रले जनाएको छ।
स्थानीय किसानहरूका अनुसार चैते धानको उत्पादन राम्रो भए पनि पर्याप्त पानी नहुँदा खेती गर्न कठिन भइरहेको छ। किसान खुसीराम चौधरीका अनुसार चैत–वैशाख महिनामा महाकाली सिँचाइ नहरमा पानी नआउने भएकाले बोरिङको पानी मात्रले चैते धानका लागि पर्याप्त हुँदैन। सिँचाइ अभावकै कारण कतिपय खेत बाँझो राख्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो।
अर्का किसान पल्लवराज जोशीले पनि सिँचाइ अभाव र छाडा चौपायाका कारण खेती गर्न समस्या हुने गरेको बताउनुभयो। उहाँका अनुसार सिँचाइको व्यवस्था भएमा चैते धान खेती किसानका लागि उपयुक्त बाली हुन सक्छ, तर आवश्यक समयमा पानी नपाउँदा खेती गर्न कठिन भइरहेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको धान जोन कार्यालयले पनि कञ्चनपुरमा लक्ष्यअनुसार धानखेती हुन नसकेको जनाएको छ। जिल्लामा कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर भए पनि हाल ५९ हजार ६०२ हेक्टर अर्थात् करिब ३६ प्रतिशत जमिनमा मात्रै खेती भइरहेको छ। यसमध्ये करिब २९ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा उपलब्ध रहेको छ। कञ्चनपुरमा हाल करिब ४८ हजार ६०० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको तथ्याङ्क छ।
जिल्लामा महाकाली सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरणमार्फत हाल ११ हजार ६०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध छ। विसं २०४२ मा सुरु भई २०४८ मा सम्पन्न भएको पहिलो चरणबाट चार हजार ८०० हेक्टर र २०५२ मा सम्पन्न दोस्रो चरणबाट ६ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। यसबाट भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकाका केही क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ।