नयाँ दिल्ली,
अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेको केही दिनपछि डुबाइएको इरानी युद्धपोतलाई त्यसअघि भारतले आफ्नो बन्दरगाह प्रयोग गर्न अनुमति दिएको खुलासा भएको छ। भारतका विदेशमन्त्री एस. जयशंकरले इरानले तीनवटा नौसैनिक जहाजलाई भारतीय बन्दरगाहमा प्रवेश गर्न अनुमति मागेको र भारतले मार्च १ मा त्यसको स्वीकृति दिएको जानकारी दिनुभएको हो।
इरानका तीन जहाज — आइरिस डेना, आइरिस बुशेहर र आइरिस लावान — फेब्रुअरी १५ देखि २५ सम्म भारतको विशाखापट्टनममा आयोजित संयुक्त सैन्य अभ्यासमा सहभागी भएका थिए। अभ्यासपछि ती जहाजहरू अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा गएका थिए। इरानले फेब्रुअरी २८ मा भारतसँग बन्दरगाह प्रयोगको अनुमति मागेको थियो, जुन भारतले मार्च १ मा स्वीकृत गरेको बताइएको छ।
मार्च ४ मा अमेरिकी पनडुब्बीले प्रहार गरेको टार्पिडोका कारण आइरिस डेना श्रीलंकाको दक्षिणी समुद्री क्षेत्रमा डुबेको थियो। उक्त घटनामा जहाजमा सवार कम्तीमा ८७ जना नौसैनिकको मृत्यु भएको बताइएको छ। भारतीय नौसेनाका अनुसार जहाज श्रीलंकाको गाल क्षेत्रको पश्चिमतर्फ करिब २० नौटिकल माइल टाढा अन्तर्राष्ट्रिय पानीमा रहेको बेला आक्रमण भएको थियो।
घटनापछि इरानले उक्त आक्रमणलाई अन्तर्राष्ट्रिय समुद्रमा गरिएको गम्भीर अपराध भन्दै कडा आलोचना गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले चेतावनी बिना गरिएको उक्त आक्रमणलाई “समुद्रमा गरिएको क्रूर कार्य” भएको बताएका छन्।
यसैबीच इरानका अर्को जहाज आइरिस बुशेहरलाई इन्जिन समस्याका कारण श्रीलंकाले मार्च ५ मा आफ्नो बन्दरगाहमा शरण दिएको थियो भने आइरिस लावान भारतको कोच्ची बन्दरगाहमा पुगेको भारतले पुष्टि गरेको छ। अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेयता इरानी नौसेनाका करिब २० वटा जहाज नष्ट भएको बताइएको छ।