कञ्चनपुर,
कृषिमा यान्त्रीकरणको प्रयोग बढाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई अनुदानमा मिनी पावर टिलर वितरण गरिएको छ। चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार वडाले ५० प्रतिशत अनुदानमा ३२ जना किसानलाई मिनी पावर टिलर उपलब्ध गराएको हो।
वडाध्यक्ष लालबहादुर ऐरका अनुसार कृषि उत्पादनलाई आधुनिकीकरण गर्दै खेतीपातीमा लाग्ने समय र लागत दुवै घटाउने लक्ष्यसहित किसानलाई मिनी टिलर वितरण गरिएको हो। किसानलाई कृषिमा यान्त्रीकरणतर्फ आकर्षित गर्न वडा कार्यालयले बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो।
वडाबाट यस कार्यक्रमका लागि रु नौ लाख बजेट विनियोजन गरिएको थियो। सोही बजेटमार्फत ३२ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको वडाध्यक्ष ऐरले जानकारी दिनुभयो। एक वटा मिनी पावर टिलरको बजार मूल्य रु ५६ हजार दुई सय ५० रहेको छ। जसमा आधा रकम अर्थात् रु २८ हजार वडाले अनुदानस्वरूप व्यहोरेको छ भने बाँकी रु २८ हजार किसानले आफैँ लगानी गरेका छन्।
व्यावसायिक कृषि गरिरहेका तथा आगामी दिनमा व्यवसायिक खेतीतर्फ अघि बढ्न इच्छुक किसानलाई प्राथमिकतामा राखेर छनोट गरी उपकरण वितरण गरिएको उहाँले बताउनुभयो। यसबाट खेतीपातीलाई आधुनिक बनाउँदै उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शुक्लाफाँटा नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग बढेमा किसानको श्रम र लागत दुवै घट्ने बताउनुभयो। मिनी टिलरको प्रयोगले खेत जोत्न, माटो पल्टाउन तथा रोपाइँअघिको तयारी गर्न सहज हुने उहाँले उल्लेख गर्नुभयो।
उहाँका अनुसार मिनी टिलर वितरणसँगै किसानलाई यसको प्रयोग तथा मर्मतसम्बन्धी प्राविधिक जानकारीसमेत दिइएको छ। उपकरण सही तरिकाले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले खेत जोत्नुअघि अपनाउनुपर्ने सावधानी, जोत्ने तरिका तथा काम सकेपछि गर्नुपर्ने मर्मतसम्बन्धी जानकारी प्रदान गरिएको हो।
मिनी टिलर प्राप्त गर्ने किसान बुद्धिबहादुर चौधरीले उपकरणले खेतीपातीको काम धेरै सहज बनाउने बताउनुभयो। यसअघि गोरु प्रयोग गरेर खेत जोत्नुपर्दा निकै समय र मेहनत लाग्ने गरेको उहाँले बताउनुभयो। अब मिनी टिलर प्रयोग गरेपछि छिटो र सहज रूपमा खेत जोत्न सकिने भएको उहाँको भनाइ छ।
किसानका अनुसार मिनी टिलरले खेत जोत्न मात्र नभई रोपाइँका लागि खेत तयारी गर्न पनि सहयोग पुर्याउनेछ। समयमै खेत जोत्न सकिने भएकाले बाली लगाउने समय व्यवस्थापन गर्न पनि सहज हुने उनीहरूको विश्वास छ।
नगरपालिकाको कृषि शाखाका अधिकृत विनयराज जोशीले कृषि यान्त्रीकरणका कार्यक्रम सञ्चालन गरेपछि किसानमा आधुनिक उपकरण प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको बताउनुभयो। यसले खेतीपातीलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनेतर्फ सकारात्मक प्रभाव पार्ने उहाँले उल्लेख गर्नुभयो।