काठमाडौँ,
नयाँ वर्ष २०८३ को अवसर पारेर दुई नेपाली चलचित्र ‘पहाड’ र ‘राम नाम सत्य’ प्रदर्शनमा आउने भएका छन्। दुवै चलचित्रका निर्माताले नेपालसँगै विदेशमा पनि प्रदर्शनको तयारी भइरहेको जानकारी दिएका छन्।
आगामी चैत २७ गतेदेखि प्रदर्शन हुने ‘राम नाम सत्य’ सामाजिक कथावस्तुसँगै द्वन्द्वप्रधान चलचित्र रहेको अभिनेता विराज भट्टले बताउनुभयो। उहाँका अनुसार चलचित्रको सफलताका लागि केवल द्वन्द्व दृश्य वा गीतसङ्गीत मात्र पर्याप्त नहुने, बलियो कथा र पटकथा अत्यावश्यक हुने बताउनुभयो।
यस चलचित्रमार्फत आयुष सिंह ठकुरी र खुसी कार्कीले अभिनय यात्रा सुरु गरेका छन्। चलचित्रमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, सुनिल थापा र सुधिर श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ। नृत्य निर्देशकका रूपमा परिचित माइकल चन्दले निर्देशन गरेको यस चलचित्रमा सामाजिक सन्देशसँगै मनोरञ्जनलाई प्राथमिकता दिइएको छ। निर्देशक चन्दले पाँच वर्षको तयारीपछि चलचित्र निर्माण गरिएको जानकारी दिनुभयो।
त्यस्तै, वैशाख १ गते प्रदर्शनमा आउने ‘पहाड’ चलचित्रले वैदेशिक रोजगारीका कारण पहाड खाली हुँदै गएको अवस्था र त्यसले ल्याउने सामाजिक–आर्थिक समस्यालाई चित्रण गरेको छ। निर्देशक तुलसी घिमिरेले पहाडको सुन्दरता हुँदाहुँदै पनि युवा पलायनले गाउँ उजाडिँदै गएको यथार्थलाई चलचित्रमार्फत प्रस्तुत गरिएको बताउनुभयो।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘पहाड’ मा बिपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनु नाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ र उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ। साथै, निर्देशक घिमिरेकी छोरी पञ्चमी घिमिरेले यस चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्।
दुवै चलचित्रले सामाजिक विषयवस्तुलाई केन्द्रमा राख्दै मनोरञ्जनसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ।