काठमाडौँ,
मुस्ताङको घरपझोङ गाउँपालिकामा ढुङ्गामै मूर्तिकला कुद्ने उद्देश्यसहित १५ दिने ‘घरपझोङ मूर्तिकला कार्यशाला’ सुरु गरिएको छ। गाउँपालिकाको आयोजना तथा ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँको सहकार्यमा सञ्चालनमा आएको कार्यशाला वैशाख २१ गतेसम्म चल्नेछ।
मुस्ताङको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई मूर्तिकलामार्फत उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित कार्यशाला आयोजना गरिएको हो। कालिगण्डकी नदीमा पाइने विशाल ढुङ्गाहरूलाई छनोट गरी जोमसोममा सङ्कलन गरिएको छ, जसमा स्थानीय मौलिकता झल्किने विभिन्न आकृतिहरू कोरिनेछन्। सीमित स्रोतका कारण अपेक्षित मात्रामा ढुङ्गा सङ्कलन गर्न भने कठिनाइ भएको आयोजकले जनाएको छ।
ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा २१ जना मूर्तिकार तथा एक दर्जनभन्दा बढी सहयोगी कलाकार मुस्ताङ पुगेर काम सुरु गरिसकेको मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले जानकारी दिनुभयो। उहाँका अनुसार कालिगण्डकीका ढुङ्गामार्फत यहाँको जीवनशैली, कला, संस्कृति र जैविक विविधता मूर्त रूपमा प्रस्तुत गरिनेछ।
कार्यशालामा भगवान विष्णुको स्वरूप शालिग्राम, भगवान नारायण, बुद्ध, गुरु पद्मसम्भव (गुरु रिन्पोर्छे) तथा घरपझोङ किल्लाजस्ता पहिचान झल्किने आकृतिहरू कोरिनेछन्। साथै, हिउँ चितुवा, याकचौरीलगायत स्थानीय पर्यावरण र जनजीवनसम्बन्धी विषयवस्तु पनि मूर्तिकलामा उतारिने जनाइएको छ। कार्य अवधिभर २१ ठूला ढुङ्गामा मूर्तिकला तयार गर्ने लक्ष्य राखिएको छ।
गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले कार्यशालाले मुस्ताङको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। कालिगण्डकी नदीका ढुङ्गाहरूलाई शालिग्रामका रूपमा धार्मिक महत्त्व दिइने भएकाले हिन्दू तथा बौद्ध धर्मको साझा पहिचान झल्काउने गरी मूर्तिकला तयार गरिने उहाँले बताउनुभयो।
कोरला नाका, उपल्लो मुस्ताङ र मुक्तिनाथ दर्शन गरेर फर्किने पर्यटकको बसाइ लम्याउने उद्देश्यले पनि कार्यशाला आयोजना गरिएको हो। घरपझोङ गाउँपालिका कार्यालय नजिकैको खुला प्राङ्गणमा सुरु गरिएको कार्यशालाका लागि आवश्यक ढुङ्गा र विद्युत् व्यवस्थापन गाउँपालिकाले मिलाएको छ।
काठमाडौँकी मूर्तिकार अनमारी तामाङले उच्च हिमाली क्षेत्रमा पहिलो पटक काम गर्ने अवसर पाएको बताउँदै यहाँको चिसो र हावाहुरीका कारण मूर्तिकला कुद्न केही चुनौतीपूर्ण भए पनि अनुभव फरक र रोचक रहेको उल्लेख गर्नुभयो।
कार्यशालामा तयार गरिएका मूर्तिहरू जोमसोम बजारस्थित कालिगण्डकी नदी किनारमा निर्माण गरिने पार्कमा राख्ने योजना रहेको छ। ढुङ्गामा कोरिएका मूर्तिकलामार्फत मुस्ताङको समग्र पहिचान उजागर गर्ने कार्यशालाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।