काठमाडौँ,
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले विद्यार्थी सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउनुभएको छ। आज जारी गरिएको विज्ञप्तिमार्फत उहाँले उक्त निर्णयलाई लोकतान्त्रिक मूल्य–मान्यता विपरीत तथा अधिनायकवादी प्रवृत्तिको संकेतका रूपमा व्याख्या गर्नुभएको हो।
नेता खड्काले नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्म आइपुग्न विद्यार्थीहरूको योगदान उल्लेखनीय रहेको बताउनुभयो। उहाँका अनुसार निर्दलीय पञ्चायती व्यवस्थाको समयमा राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएका बेला विद्यार्थी सङ्गठनहरूले लोकतन्त्रको पक्षमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
त्यस्तै, विसं २०३६/३७ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक आन्दोलनमा विद्यार्थीहरूको सक्रिय सहभागिताले वर्तमान राजनीतिक व्यवस्था स्थापना सम्भव भएको उहाँले उल्लेख गर्नुभयो। वर्तमान सरकारले लोकतान्त्रिक अभ्यासबाट उदाएका युवा नेतृत्वलाई प्रोत्साहन गर्ने वातावरण बनेको भए पनि विद्यार्थी सङ्गठनमाथि प्रहार गर्नु विरोधाभाषपूर्ण भएको उहाँको भनाइ छ।
विद्यार्थी सङ्गठनहरूलाई केवल राजनीतिक आस्थासँग जोडिएका संस्था नभई शैक्षिक क्षेत्रका विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउने वैधानिक निकायका रूपमा चित्रण गर्दै नेता खड्काले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन आग्रह गर्नुभएको छ। अन्यथा लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन सक्ने चेतावनीसमेत उहाँले दिनुभएको छ।