काठमाडौं,
आठ रात नौ दिनसम्म चल्ने प्रसिद्ध बिस्केट जात्राको अन्तिम दिन आज भक्तपुर र मध्यपुरथिमिका विभिन्न स्थानमा लिङ्गो ढालेर जात्रा सम्पन्न गरिएको छ। भक्तपुरको पोटरी स्क्वायरस्थित तालाक्वो ज्याठा गणेश मन्दिर अगाडि उठाइएको हात नभएको लिङ्गो विधिपूर्वक पूजा गरी आज बिहान ढालिएको हो।
हरेक वर्ष चैत मसान्तका दिन कुमालेटोलस्थित तालाक्वोमा स्थानीयले हात नभएको लिङ्गो उठाउने परम्परा रहेको छ। सोही लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढालिएपछि भैरवको रथ तान्ने प्रक्रिया सुरु हुने परम्परा छ। गुठी संस्थान कार्यालयका प्रमुख आनन्द कर्माचार्यका अनुसार आज अपराह्नसम्म पूजा सम्पन्न गरी भैरवको रथ तान्न सुरु गरिएको र यससँगै जात्रा समापनतर्फ पुगेको हो।
तालाक्वोमा लिङ्गो ढालिएपछि आजै भैरव र भद्रकालीको पूजा गरी गःहिटीबाट रथ तान्ने चलन रहेको छ। यस वर्ष पनि परम्पराअनुसार सबै धार्मिक विधि पूरा गर्दै जात्रा सञ्चालन गरिएको जनाइएको छ।
यसैबीच, मध्यपुरथिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि चैत ३० गते उठाइएको लिङ्गो पनि आज बिहान करिब १० बजे ढालिएको छ। स्थानीयका अनुसार महालक्ष्मी मन्दिरमा लिङ्गो उठाएपछि थिमि क्षेत्रको जात्रा सुरु हुने र लिङ्गो ढालिएसँगै जात्रा सम्पन्न हुने परम्परा रहिआएको छ।
यसअघि भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तमा उठाइएको लिङ्गो वैशाख २ गते नै ढालिएको थियो। विभिन्न स्थानमा लिङ्गो ढाल्ने परम्परासँगै यस वर्षको बिस्केट जात्रा विधिवत् रूपमा सम्पन्न भएको छ।