भरतपुर विद्युत् वितरण केन्द्रद्वारा २७७ ग्राहक कालोसूचीमा

mayukarajkumari

काठमाडौँ,

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा विद्युत् महसुल नतिर्ने २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ। लामो समयदेखि विद्युत् महसुल नतिर्ने ग्राहकहरूलाई कालोसूचीमा राखेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको हो।

केन्द्रका सूचना अधिकारी नन्दराम विष्टका अनुसार ती ग्राहकबाट रु एक करोड चार लाख १७ हजार ३८१ बक्यौता असुल गर्न बाँकी छ। बक्यौता लामो समयसम्म नतिरेपछि उनीहरूलाई कालोसूचीमा राखिएको उहाँले बताउनुभयो।

यस आर्थिक वर्षमा हालसम्म १ हजार ८२६ ग्राहकको विद्युत् लाइन काटिएको छ। छ महिनासम्म पनि महसुल नतिर्ने ग्राहकहरूको लाइन काट्ने कार्य भइरहेको केन्द्रले जनाएको छ।

केन्द्रमा हाल ७४ हजार ८७६ ग्राहक रहेका छन्। ती ग्राहकबाट कुल रु ४९ करोड चार लाख १० हजार ४३७ बक्यौता उठाउन बाँकी रहेको सूचना अधिकारी विष्टले जानकारी दिनुभयो।

बक्यौता असुलीका लागि कार्यालयले लाइन काट्ने, सूचना जारी गर्ने तथा आवश्यक कारबाही अघि बढाउने काम निरन्तर भइरहेको छ। कर्मचारीहरू नियमित रूपमा बक्यौता उठाउन सक्रिय रूपमा काम गरिरहेको केन्द्रले जनाएको छ।

प्रतिक्रिया