काठमाडौँ,
भारतको पश्चिम बङ्गालमा हुन गइरहेको विधानसभाको चुनावलाई लक्षित गर्दै पूर्वी सीमा क्षेत्रमा ७२ घण्टाका लागि नाका बन्द गरिएको छ। सोमबार साँझदेखि लागू हुने गरी काँकरभिट्टासँग जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार भारतको दार्जिलिङ जिल्ला प्रशासनको निर्णयअनुसार सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म सीमा बन्द रहनेछ। भारतको पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ।
यसअघि पनि नेपाल र भारत दुवै देशमा चुनावको समयमा आपसी सहमतिमा सीमा नाका बन्द गर्ने अभ्यास रहँदै आएको छ। ‘बोर्डर शिल’ गरिएको अवधिमा सर्वसाधारणको पैदल आवतजावत तथा सवारी सञ्चालन पूर्ण रूपमा रोकिए पनि उपचारका लागि जाने बिरामी र अतिआवश्यक काम भएका व्यक्तिलाई परिचय खुल्ने कागजपत्रका आधारमा आवतजावतमा अनुमति दिइने जनाइएको छ।
यस्तै, नेपाल तथा बङ्गलादेशका पर्यटकलाई आफ्नो मुलुक फर्किनुपर्ने अवस्थामा आवश्यक कागजात देखाएमा भारतीय प्रशासनले सहजीकरण गर्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।