खार्किभ नजिक रूसी ड्रोन आक्रमणमा तीन बालबालिकासहित चार जनाको मृत्यु

mayukarajkumari

रूसले खार्किभ क्षेत्र नजिक गरेको ड्रोन आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ, जसमा तीन साना बालबालिका पनि रहेका छन्। खार्किभ क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेग सिनेगुबोभका अनुसार बोहोदुखिभ सहरमा भएको आक्रमणमा एक–एक वर्षका दुई बालक, दुई वर्षीया एक बालिका र ३४ वर्षीय एक पुरुषको ज्यान गएको हो। उक्त ड्रोन एक आवासीय घरमा खसेको थियो। आक्रमणमा ३५ वर्षीया गर्भवती महिला र ७६ वर्षीया एक वृद्धा घाइते भएका छन्।

यसैबीच, डोनेट्स्क क्षेत्रको स्लोभ्यान्स्क सहरमा रूसी सेनाले सातवटा बम खसालेको जनाइएको छ। क्षेत्रीय गभर्नर वादिम फिलाश्किनका अनुसार उक्त आक्रमणमा ११ वर्षीया बालिकासहित दुई जनाको मृत्यु भएको छ। पछिल्ला दिनहरूमा रूसले खार्किभ क्षेत्रमा ऊर्जा तथा यातायात पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्। यसअघि कठोर चिसो मौसमका कारण ऊर्जा क्षेत्रलाई राहत दिन गरिएको अस्थायी “ऊर्जा युद्धविराम” समाप्त भएपछि आक्रमण फेरि बढेको हो।

हाल खार्किभ क्षेत्रमा ऊर्जा संकटका कारण आपतकाल घोषणा गरिएको छ। यसअघि भएका ड्रोन आक्रमणले हजारौँ घरधुरीमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। जेलेन्स्कीले अमेरिकाले आगामी जुनसम्म युद्ध अन्त्य गर्ने चाहना राखेको र दुवै पक्षलाई वार्ताका लागि अमेरिका निम्त्याइएको बताएका छन्। उता, युक्रेनले पनि रुसको भोल्गोग्राद क्षेत्रमा ड्रोन आक्रमण गरेको खबर आएको छ, जसमा एक अपार्टमेन्ट भवन क्षतिग्रस्त भएको र कारखानामा आगलागी भएको जनाइएको छ।

प्रतिक्रिया