काठमाडौँ,
जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। सार्क–जापान विशेष कोषअन्तर्गत सञ्चालन हुने विभिन्न कार्यक्रम कार्यान्वयनका लागि जापानले उक्त रकम प्रदान गर्न लागेको हो।
सार्क सचिवालयका अनुसार यस सहयोगसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर गरिएको छ। काठमाडौँस्थित सार्क सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस सहयोगमार्फत सार्क सदस्य राष्ट्रहरूमा विभिन्न क्षेत्रका कार्यक्रम सञ्चालन तथा क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। साथै यसले जापान र सार्क सदस्य मुलुकबीचको मैत्री सम्बन्ध, सहकार्य तथा आपसी सहयोगलाई अझ मजबुत बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।