वसुन्धराश्री पुरस्कार साहित्यकार चन्दलाई, मानश्री पुरस्कार स्वामी आनन्द अरुणलाई

mayukarajkumari

काठमाडौँ,

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यस वर्षको वसुन्धराश्री पुरस्कार वरिष्ठ साहित्यकार तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

प्रज्ञाप्रतिष्ठानका सदस्य–सचिव कृसु क्षेत्रीका अनुसार नेपाली साहित्यमा आधुनिक कथा, नाटक र निबन्धको माध्यमबाट महत्वपूर्ण योगदान दिँदै नेपाली वाङ्मयलाई समृद्ध बनाउन भूमिका निर्वाह गरेकाले चन्दलाई यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। उहाँले नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन पुर्‍याएको योगदानको समेत कदर गरिएको बताइएको छ।

विसं १९९७ मा बैतडीमा जन्मनुभएका साहित्यकार चन्दका ‘विसर्जन’, ‘हिउँको तन्ना’, ‘बाह्रौँ खेलाडी’, ‘अपराजिता’ र ‘नेताका साथी’लगायतका कृति प्रकाशित छन्।

यसैगरी, प्रतिष्ठानले यस वर्षको मानश्री पुरस्कार बोधिसत्व स्वामी आनन्द अरुणलाई प्रदान गर्ने निर्णय गरेको छ। योग, ध्यान तथा आध्यात्मिक दर्शन र साहित्यको क्षेत्रमा नेपाल तथा विश्वभर पुर्‍याएको योगदानका आधारमा उहाँलाई यो सम्मान प्रदान गर्न लागिएको हो।

सदस्य–सचिव कृसु क्षेत्रीका अनुसार स्वामी आनन्द अरुणले नेपाली अध्यात्म र सभ्यताको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान विस्तार गर्न योगदान दिनुभएको छ।

विसं २००१ मा जनकपुरमा जन्मनुभएका स्वामी आनन्द अरुणका ‘अन्तरयात्रा’, ‘सन्तगाथा’, ‘सन्तदर्शन’ र ‘अचम्म जे देखेँ मैले’ लगायतका कृति प्रकाशित छन्। उहाँका कृतिहरू अंग्रेजी, हिन्दी, जापानी र रुसी भाषामा समेत अनुवाद भएका छन्।

दुवै पुरस्कारको राशि जनही ७५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया