सरकारी वेबसाइटमा अपाङ्ग पहुँचमैत्री सुविधा कार्यान्वयन

mayukarajkumari

काठमाडौँ,

सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ। सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यो पहल विशेषगरी अपाङ्गता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरिएको विभागले जनाएको छ।

विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार अब सरकारी वेबसाइटहरू ‘किबोर्ड’को प्रयोगबाट मात्र पनि सहज रूपमा सञ्चालन गर्न सकिनेछ। प्रयोगकर्ताले ‘माउस’ बिना नै वेबसाइटका सम्पूर्ण भागमा पहुँच पाउनेछन्। साथै, ‘स्किप नेभिगेसन’ लिङ्कको व्यवस्थाले किबोर्ड तथा ‘स्क्रिन रिडर’ प्रयोगकर्तालाई नेभिगेसन सामग्री छोडेर सिधै मुख्य विषयवस्तुमा पुग्न सहयोग गर्नेछ।

वेबसाइटमा राखिएका महत्वपूर्ण तस्बिर, लोगो तथा सेवासम्बन्धी सामग्रीमा ‘अल्ट टेक्स्ट’ राखिएको छ, जसले स्क्रिन रिडर प्रयोगकर्तालाई सामग्री बुझ्न सहज बनाउने विभागको भनाइ छ। त्यस्तै, फाराम भर्दा आउने त्रुटि सन्देश र सुझावहरू पनि स्पष्ट रूपमा सुन्न र बुझ्न सकिने गरी सुधार गरिएको छ।

सर्च र सम्पर्क फारामजस्ता ‘इनपुट’ क्षेत्रमा स्पष्ट नाम र चिन्ह राखिएकाले प्रयोगमा सहजता आएको छ। साथै, किबोर्ड प्रयोगकर्ताका लागि आफू वेबसाइटको कुन भागमा रहेको छ भन्ने स्पष्ट देखिने दृश्य सङ्केतहरू पनि समावेश गरिएको छ।

फाराम पेस गरेपछि प्राप्त हुने सन्देशहरू समेत स्क्रिन रिडर प्रयोगकर्ताले सहजै थाहा पाउने व्यवस्था मिलाइएको छ। विभागका अनुसार यी सुधारहरू सामान्य प्रयोगकर्तालाई धेरै देखिने परिवर्तन नभए पनि सहायक प्रविधिमा निर्भर व्यक्तिका लागि अत्यन्त उपयोगी हुनेछन्।

महानिर्देशक साहले यस्ता पहुँचमैत्री सुधारहरूले सबै नागरिकलाई समान रूपमा डिजिटल सेवामा पहुँच पुर्‍याउने लक्ष्यलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै, यसले समावेशी र प्रविधिमैत्री शासन प्रणाली निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया