काठमाडौँ,
मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्नेमा जोड दिनुभएको छ। जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकूपको ११७औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।
मन्त्री तिवारीले गुणस्तरीय शिक्षाले मात्रै समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने उल्लेख गर्दै विद्यालय तहदेखि नै अनुशासन, नैतिक शिक्षा र सीपमूलक ज्ञानको विकास आवश्यक रहेको बताउनुभयो। उहाँले मधेस प्रदेश सरकारले शिक्षाको पहुँच विस्तार, छात्रवृत्ति तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी पनि दिनुभयो।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख चेतकुमार पोखरेलले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र सरोकारवाला निकायबीच समन्वय अपरिहार्य रहेको बताउनुभयो। उहाँले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी र प्रभावकारी बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो।
त्यस्तै, विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झाले विद्यालयको विगत, वर्तमान अवस्था र भविष्यका योजनाबारे जानकारी गराउँदै शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा विद्यालयले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो। उहाँले विद्यालयको गुणस्तर अभिवृद्धिका लागि स्थानीय तह, अभिभावक तथा सम्बन्धित निकायसँग सहकार्य आवश्यक रहेको अपेक्षा व्यक्त गर्नुभयो।
सो अवसरमा कक्षा १२ विज्ञान समूहमा अध्ययनरत मेधावी तथा समावेशी छात्रछात्रालाई प्रोत्साहनस्वरूप १० जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ।