चन्द्रपुर (रौतहट),
रौतहट जिल्लामा केरा खेतीको बिमा नहुँदा किसानहरू गम्भीर आर्थिक संकटमा परेका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा गरिएको केरा खेती प्राकृतिक विपत्तिका कारण नष्ट हुँदा किसानले ठूलो क्षति व्यहोर्नुपरेको हो।
सोमबार साँझ आएको भीषण हावाहुरीले चन्द्रपुर नगरपालिकाका विभिन्न वडामा व्यापक क्षति पुर्याएको छ। विशेषगरी चन्द्रपुर–३ मा लगाइएको करिब डेढ करोड रुपैयाँ बराबरको केरा खेती पूर्ण रूपमा नष्ट भएको छ। चन्द्रपुर–१ को पौराई, चन्द्रपुर–२ को जुडिबेला, वडा नं ३ को गैँडाटार तथा वडा नं ४ को चन्द्रनिगाहपुरलगायत क्षेत्रमा हावाहुरीले हजारौँ केरा बोट ढालेको छ।
गैँडाटार गाउँलाई केरा उत्पादनको मुख्य केन्द्रका रूपमा चिनिन्छ। यहाँका अधिकांश किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन्। स्थानीय कृषक दीपक गौतमका अनुसार एकैछिनको हावाहुरीले वर्षभरको मेहनत, लगानी र समय सबै नष्ट भएको छ, जसले किसानलाई आर्थिक रूपमा धरासायी बनाएको छ।
किसानहरूले बर्सेनि हावाहुरी, रोग तथा जङ्गली जनावरको आक्रमण जस्ता समस्याहरू झेल्दै आएका छन्। तर केरा खेतीको बिमा नहुँदा सम्पूर्ण क्षति आफैंले व्यहोर्नुपरेको उनीहरूको गुनासो छ। व्यावसायिक खेती बढेसँगै बिमाको माग बढे पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको कृषकहरू बताउँछन्।
दीपक गौतमले करिब ७ बिघा जमिनमा केरा खेती गर्दै आएका छन्। उनका अनुसार रौतहटमा करिब चार सय बिघाभन्दा बढी क्षेत्रमा केरा खेती भइरहेको छ र पछिल्लो हावाहुरीबाट मात्रै तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
यस्तै अर्का कृषक रमेश घिमिरेले केरा खेतीको बिमा भएमा किसानको लगानी सुरक्षित हुने बताए। उनले बिमा कम्पनीहरूले जोखिम बढी देखाउँदै केरा खेतीको बिमा गर्न आनाकानी गरिरहेको आरोप लगाए। बिमा अभावकै कारण प्रत्येक वर्ष प्राकृतिक प्रकोपपछि किसान झन् समस्यामा पर्ने गरेको उनले बताए।
यस विषयमा चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले किसानको बाली बिमाका लागि नगरपालिका सकारात्मक रहेको बताए। उनले बाली बिमा अत्यावश्यक भएकाले यसका लागि आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको स्पष्ट पारे।