काठमाडौं,
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी ऊर्जा संरचनामा आक्रमण स्थगित गर्ने निर्णय लिएको घोषणा गरेपछि तेलको मूल्य घटेको र शेयर बजार पुनः उकालो लागेको छ। ट्रम्पले सामाजिक सञ्जालमा दुई देशबीच “पूर्ण र समग्र समाधान” सम्बन्धी वार्ता भएको उल्लेख गरे, तर इरानले यसलाई अस्वीकृत गरेको छ।
ट्रम्पको घोषणापछि ब्रेन्ट क्रूडको मूल्य ११३ डलरबाट घटेर ९६ डलर प्रति ब्यारेलसम्म झरेको थियो। त्यसपछि केही सुधार हुँदै पुनः बृद्धि भएको छ। युरोप र अमेरिका बजार पनि उकालो लागेको छ। लन्डनको एफटीएसई १०० सूचकांक प्रारम्भिक गिरावटपछि स्थिर भएको छ भने जर्मनीको ड्याक्स १.२% र फ्रान्सको सिएसी ०.९% माथि बन्द भएको छ। अमेरिकामा एस एण्ड पी ५०० सूचकांक १.१% र डाउ जोन्स १.४% बढेको छ।
आसियामा जापानको निक्केई ३.५% र दक्षिण कोरियाको कोसपी ६.५% घटेको थियो। यी देशहरू इरानबाट हुने तेल आपूर्तिमा निर्भर भएका कारण उनीहरू प्रभावित भएका हुन्। इरानले हर्मुज स्ट्रेट जलमार्गमा युद्धको कारण आपूर्ति अवरुद्ध गरेको छ, जसले विश्वव्यापी इन्धन मूल्य बढाएको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुख फातीह बिरोलले यो युद्धले विश्वलाई दशकको सबैभन्दा ठूलो ऊर्जा संकटको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। उनले हालको संकटलाई १९७० को दशकको तेल संकट र २०२२ मा युक्रेनमाथि रूसको आक्रमणसँग तुलना गरेका छन्।
ब्रिटेनमा पनि ऊर्जासम्बन्धी चिन्ता बढेको छ। प्रधानमन्त्री किर स्टारमरले ट्रम्पसँग हर्मुज स्ट्रेट खोल्न आवश्यकताको विषयमा छलफल गरेका थिए। ब्रिटेनको आपत्कालीन बैठकमा ऊर्जा सुरक्षा, आपूर्ति श्रृंखलाको मजबूती र जीवनयापन खर्चमा प्रभावको समीक्षा हुने छ।
यस घटनाले अन्तर्राष्ट्रिय बजारमा अस्थिरता थप गरेको छ भने ऊर्जा र शेयर बजारमा उतार–चढाव जारी रहने आशंका गरिएको छ।