काठमाडौं,
आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज सम्पन्न भएको छ। गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको यो ऐतिहासिक जात्रा अन्तिम दिन गःहिटीबाट रथ तानेसँगै विधिवत् समापन गरिएको हो।
जात्राको अन्तिम दिन दिउँसो ४ बजेबाट भैरवको रथ तान्ने कार्यक्रम राखिएको थियो। गुठी कार्यालय भक्तपुरका प्रमुख आनन्द कर्माचार्यका अनुसार आज अपराह्नसम्म सबै पूजा विधिहरू सम्पन्न गरी रथ तान्ने कार्य सुरु गरिएको हो। यस वर्षको जात्रा सुरुदेखि नै शान्तिपूर्ण रूपमा सञ्चालन भएको र अन्तिम दिनसम्म पनि कुनै अप्रिय घटना नभए शान्तिपूर्ण रूपमा सम्पन्न भएको उहाँले बताउनुभयो।
रथ तान्ने क्रममा सम्भावित झडप वा विवाद रोक्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले विशेष सुरक्षा व्यवस्था मिलाएको थियो। भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार जात्रालाई सुरक्षित र व्यवस्थित बनाउन करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। सिसी क्यामरा तथा सादा पोसाकका सुरक्षाकर्मीमार्फत निरन्तर अनुगमन गरिएको र आवश्यक परे मात्रै सुरक्षाकर्मी अघि बढ्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले पनि जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनासहितको सुरक्षा टोली खटाइएको बताउनुभयो। जात्रामा अवाञ्छित गतिविधि गर्ने, हूलदङ्गा मच्चाउने वा ढुङ्गा प्रहार गर्ने व्यक्तिलाई कडा कारबाही गरिने चेतावनी दिइएको थियो। काठमाडौँबाट समेत थप सुरक्षाकर्मी परिचालन गरी व्यापक सुरक्षा व्यवस्थाका बीच यस वर्षको बिस्केट जात्रा सफलतापूर्वक सम्पन्न भएको छ।