काठमाडौँ,
काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित ‘खोजमूलक पत्रकारिता तथा एआई’ सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो।
बागमती प्रदेशका १३ जिल्लामा कार्यरत महिला पत्रकारको खोजमूलक पत्रकारितामा क्षमता अभिवृद्धि गर्नुका साथै डिजिटल युगका चुनौती र अवसरबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ।
समापन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्णसारू मगरले पत्रकारिता अब परम्परागत शैलीमा मात्र सीमित हुन नसक्ने बताउनुभयो। उहाँले आधुनिक प्रविधि, विशेषगरी एआईलाई आत्मसात् गर्दै खोजमूलक पत्रकारितालाई सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव खुविराम अधिकारीले कार्यक्रमलाई आगामी दिनमा अझ परिस्कृत गर्दै लैजाने योजना रहेको जानकारी दिनुभयो। उहाँले सामाजिक विकाससँग सम्बन्धित विषय नागरिकसम्म पुर्याउन पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो।
नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद न्यौपानेले सिकेका सीपलाई व्यवहारमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण पत्रकारिता क्षेत्रमा देखिएका चुनौतीबीच यस्तो कार्यक्रमले महिला पत्रकारलाई सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी पत्रकारहरूले अभिमुखीकरण प्रभावकारी भएको बताउँदै आगामी दिनमा यस्ता तालिमको अवधि बढाउन सुझाव दिएका छन्। कार्यक्रममा पत्रकार आचारसंहिता, ‘फेक न्यूज’, जिम्मेवार पत्रकारिता तथा एआई प्रयोगमार्फत सामग्री निर्माणलगायत विषयमा सहजीकरण गरिएको थियो। कार्यक्रममा बागमती प्रदेशका २१ महिला पत्रकारको सहभागिता रहेको थियो।