भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन वीरगञ्ज महानगरको आह्वान

mayukarajkumari

काठमाडौँ, 

वीरगञ्ज महानगरपालिकाले मुख्य सडक विस्तारका कारण पूर्णरूपमा भूमिहीन भएका तथा देशको अन्य कुनै स्थानमा जग्गा नभएका नागरिकलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै आवश्यक कागजातसहित उपस्थित हुन अनुरोध गरेको हो।

डिभिजन सडक कार्यालय हेटौँडाले गत वैशाख ६ गतेदेखि वीरगञ्जको गण्डकचोकदेखि मितेरी पुलसम्मको सडक क्षेत्रअन्तर्गत अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउने कार्य सुरु गरेको छ। यस प्रक्रियाबाट प्रभावित भई भूमिहीन भएका नागरिकको पहिचान गर्न महानगरले लगत सङ्कलन सुरु गर्न लागेको जनाएको छ।

महानगरका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिलकुमार कर्णका अनुसार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रभावितलाई राहत उपलब्ध गराउने तयारी गरिएको हो। प्राप्त विवरणको यथार्थ छानबिनपछि पूर्णरूपमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन संघीय सरकारसमक्ष सिफारिस गरिने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले भत्किएका तथा जोखिमपूर्ण घरटहरामा व्यापार–व्यवसाय सञ्चालन नगर्न आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले यस्ता संरचनामा व्यवसाय सञ्चालन गर्दा घरधनी, व्यवसायी तथा सर्वसाधारणको ज्यान जोखिममा पर्न सक्ने भन्दै सचेत गराउनुभएको छ।

प्रतिक्रिया