सुदूरपश्चिममा औलो सङ्क्रमण पुनः बढ्दा निवारण लक्ष्यप्राप्ति चुनौतीपूर्ण

mayukarajkumari

काठमाडौँ, 

सुदूरपश्चिम प्रदेशमा औलो (मलेरिया) सङ्क्रमण पुनः बढ्न थालेपछि सन् २०३० सम्म औलो निवारण गर्ने लक्ष्य प्राप्ति चुनौतीपूर्ण बनेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। निवारणको लक्ष्य नजिक पुगेको अवस्थामा देखिएको यो वृद्धि स्वास्थ्य क्षेत्रमा गम्भीर चिन्ताको विषय बनेको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशभर ३८७ जनामा औलो पुष्टि भएको छ। तीमध्ये ३७३ जना आयातित र १४ जना स्थानीय (इन्डिजिनस) केस रहेका छन्। यसले औलोको मुख्य स्रोत बाह्य भए पनि स्थानीय संक्रमण पनि फैलिन थालेको देखाएको छ।

भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीका अनुसार हालै डडेलधुरा, बैतडी, कञ्चनपुर र कैलालीका विभिन्न स्थानीय तहमा नयाँ स्थानीय औलोका केस भेटिएका छन्। जिल्लागत रूपमा कैलालीमा सबैभन्दा बढी २०४, कञ्चनपुरमा ५७, अछाममा ५१, डोटीमा ३१, बाजुरामा २२, डडेलधुरामा १२, बैतडीमा ८ र दार्चुलामा २ जना बिरामी देखिएका छन्।

अधिकृत जोशीका अनुसार सीमावर्ती जिल्ला कैलाली र कञ्चनपुरमा बढी केस देखिनु भारतसँगको खुला सीमाका कारण जोखिम बढेको संकेत हो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार लगातार तीन वर्ष स्थानीय औलो शून्य भए मात्र निवारण प्रमाणपत्र प्राप्त हुने भएकाले हालको अवस्था चुनौतीपूर्ण रहेको उनले बताए।

प्रदेशमा ‘प्लाज्मोडियम भाइभ्याक्स’का ३२८, ‘प्लाज्मोडियम फाल्सिपेरम’का ५४, ‘प्लाज्मोडियम ओभल’का ३ र मिक्सड इन्फेक्सनका २ जना बिरामी देखिएका छन्। अफ्रिकी मुलुकहरूमा देखिने ओभल प्रजातिका केसहरू पनि भेटिनु चिन्ताजनक भएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

निर्देशक डा. खगेन्द्र बमका अनुसार विदेशमा कार्यरत सुरक्षाकर्मी तथा भारतबाट फर्किने श्रमिकमार्फत आयातित औलो बढी देखिएको छ। साथै जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान पहाडी र हिमाली क्षेत्रसम्म विस्तार हुँदै गएको पनि उनले बताए।

स्वास्थ्य अधिकारीहरूले सीमामा स्वास्थ्य परीक्षण सुदृढीकरण, आयातित केसको निगरानी, जनचेतना विस्तार र लामखुट्टे नियन्त्रणका आधुनिक उपाय अपनाउन आवश्यक रहेको बताएका छन्। साथै, झुलको प्रयोग, पानी जम्न नदिने र ज्वरो आएमा तत्काल परीक्षण गराउने बानीले औलो नियन्त्रणमा महत्वपूर्ण योगदान दिन सक्ने शुक्लाफाँटा स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए।

औलो मुख्यतः संक्रमित ‘एनोफिलिज’ लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो। नेपाल हाल औलो निवारण उन्मुख अवस्थामा रहे पनि हालैको वृद्धि ठूलो चुनौतीका रूपमा देखिएको स्वास्थ्य विज्ञहरूको भनाइ छ।

प्रतिक्रिया