काठमाडौँ,
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सम्पत्तिमाथि अनुसन्धान सुरु भएको छ। गृह मन्त्रालयका उच्च अधिकृतका अनुसार, अनुसन्धानको काम प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अघि बढाइरहेको छ।
अनुसन्धानको सिलसिलामा, पूर्वमन्त्री दीपक खड्कालाई नियन्त्रणमा लिइएको छ। सीआईबीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्दैछ र अदालतबाट आवश्यक म्याद लिएर प्रक्रिया अघि बढाइरहेको छ। खड्कामाथि अनुसन्धान सम्पत्ति शुद्धीकरण विभागको पत्राचारको आधारमा गरिएको हो।
भदौ २४ मा भएको आगजनीमा पूर्वप्रधानमन्त्री देउवा र दाहालको घरमा जलेको रकम फेला परेको थियो। त्यस्तै, पूर्वमन्त्री खड्काको घरमा पनि जलेको रकम भेटिएको थियो। प्रहरीले पूर्वप्रधानमन्त्रीहरूको चल–अचल सम्पत्ति, आम्दानीको स्रोत, र अन्य वित्तीय विवरणहरूको विस्तृत अनुसन्धान गर्ने तयारी गरेको छ।
यसैबीच, शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवास भत्काउने प्रयास स्थानीय प्रशासनले रोक लगाएको छ। जेनजी प्रदर्शनमा आगजनी भएको उक्त भवन भत्काएर नयाँ संरचना निर्माण गर्ने तयारी भइरहेको बेला जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनमा काम रोकेको थियो। प्रहरीले भत्काउने काम रोक्दा त्यहाँ कार्यरत कामदारलाई हटाएको थियो। जलेको घरबाट फेला परेको डलर र नेपाली रुपैयाँ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सङ्कलन गरी सुरक्षित राखेको थियो।