कञ्चनपुर,
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले भारतसँग जोडिएका कञ्चनपुर जिल्लाका सबै सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीबार राति १२ बजेसम्म भारतसँग सीमा जोडिएका जिल्लाका सम्पूर्ण नाका बन्द रहनेछन् ।
त्यसैगरी फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुँदासम्म अत्यावश्यक सेवाबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाइएको छ । एम्बुलेन्स, ट्राफिक, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल तथा विद्युत् सेवा सम्बन्धी सवारीसाधन, नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन तथा अनुमति प्राप्त सवारीसाधनलाई भने सञ्चालनको अनुमति दिइनेछ ।
निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउन उक्त निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभएको छ ।