काठमाडौँ,
पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द गरिने भएको छ। विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ सम्पन्न गर्न राति ११ः४५ बजेदेखि बिहान ६ः३० बजेसम्म उडान तथा अवतरण पूर्ण रूपमा रोकिनेछ।
हाल विमानस्थलको धावनमार्गको छेउमा रहेको ट्याक्सीवे क्षेत्रमा निर्माण कार्य जारी रहेको छ। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो।
विमानस्थल कार्यालयले जारी गरेको सूचनामा निर्माण कार्यलाई छिटो सम्पन्न गर्न यस्तो व्यवस्था गरिएको उल्लेख छ। साथै, विमानस्थल बन्द हुँदा यात्रु र सेवामा पर्ने प्रभावलाई न्यून गर्न आवश्यकताअनुसार उडान तथा अवतरणको कार्यतालिका मिलाउन हवाई सेवा प्रदायकलाई आग्रह गरिएको छ।