काठमाडौँ,
चैत्र शुक्ल नवमीका अवसरमा श्री रामचन्द्रको जन्मोत्सवका रूपमा मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। यस दिन भक्तजनहरूले भगवान् रामको पूजा–आराधना, जप, पाठ तथा ध्यान गरी पर्व मनाउने परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार त्रेतायुगमा अयोध्या का राजा दशरथ र महारानी कौसल्याका सुपुत्रका रूपमा श्रीरामको जन्म यही दिन भएको हो। विष्णुको सातौँ अवतार मानिने रामको जन्म पुनर्वसु नक्षत्रमा भएको विश्वास गरिन्छ। उहाँको कुण्डलीमा सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकैसाथ रहने दुर्लभ योग परेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।
रामनवमी पर्वको महत्वबारे धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार रामजस्तो मर्यादित, अनुशासित र आदर्श शासकको अपेक्षा गर्दै यो पर्व मनाइन्छ। उहाँका अनुसार रामराज्यमा जस्तै न्याय, अनुशासन र समृद्धि कायम गर्ने प्रेरणा यस पर्वले दिन्छ। यसैले श्रीरामलाई ‘मर्यादा पुरुषोत्तम’ भनेर सम्मान गरिन्छ।
धार्मिक ग्रन्थअनुसार चैत्र अष्टमीमा अष्ट मातृकाको पूजा गरी नवमीका दिन रामको पूजा, जप, पाठ र ध्यान गर्नाले मनोकामना पूरा हुने विश्वास छ। यस अवसरमा जनकपुर र अयोध्यामा विशेष मेला तथा रामलीला आयोजना गरिन्छ भने विभिन्न मन्दिरहरूमा भक्तजनहरूको भीड लाग्ने गर्छ। जनकपुरस्थित रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट आएका श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
परम्पराअनुसार यस दिन पवित्र नदी, ताल तथा कुण्डमा स्नान गरी व्रत बस्ने, रामायण पाठ गर्ने र भजन–कीर्तन गर्ने चलन छ। वाल्मीकीय, तुलसीकृत तथा भानुभक्तीय रामायण वाचन गर्दै रातभरि भक्तिमय कार्यक्रम सञ्चालन गरिन्छ।
धार्मिक विश्वासअनुसार व्रतार्क लगायतका ग्रन्थहरूमा रामनवमीका दिन व्रत उपवास बसी पूजा–आराधना गर्नाले पाप नाश भई बैकुण्ठ प्राप्ति हुने उल्लेख गरिएको छ। असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने यो पर्वले समाजमा सदाचार, सत्य र धर्मको मार्ग अनुसरण गर्न प्रेरणा दिने विश्वास गरिन्छ।
भगवान् रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरी राक्षसी प्रवृत्तिको अन्त्य गरेको तथा पिताको आज्ञा पालन गर्दै आदर्श जीवनको उदाहरण प्रस्तुत गरेकाले उहाँको सम्झनामा रामनवमी पर्व मनाउने परम्परा रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ।