निर्वाचनका लागि मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य सेवा अनिवार्य

mayukarajkumari

काठमाडौँ,

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सबै मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। निर्वाचनका क्रममा आकस्मिक स्वास्थ्य समस्या आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै आयोगले आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो।

आयोगले अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ। सो दिन देशभर १० हजार ९६७ मतदान स्थल तथा अस्थायी केन्द्रसहित २३ हजार २५५ मतदान केन्द्रमा मतदान हुँदैछ। निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्ग, अशक्त र ज्येष्ठ नागरिकलगायत मतदातालाई आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य सेवा सुनिश्चित गर्न आयोगले आह्वान गरेको छ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा निर्वाचन व्यवस्थापन कार्य स्वीकृत कार्यतालिका अनुसार निरन्तर अगाडि बढिरहेको उल्लेख गर्दै सबै मतदान स्थलमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको जनाइएको छ। यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई आवश्यक सहयोग गर्न पत्राचार गरिएको आयोगले जनाएको छ।

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न आग्रह गरिएको छ। आयोगले निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल सरकार तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।

मतदाताको सहभागिता सहज बनाउन मतदानको दिनअघि र पछि गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णय नेपाल सरकारले गरिसकेको छ। साथै मतदान केन्द्र रहेका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालयलगायत सरकारी संरचना फागुन १९ देखि २१ गतेसम्म प्रयोग गर्न मिल्ने गरी आवश्यक समन्वय गरिएको आयोगले जनाएको छ। आयोगले निर्णयअनुसार आवश्यक सहयोग उपलब्ध गराउन संघ, प्रदेश, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ।

प्रतिक्रिया