काठमाडौँ,
आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस विश्वभर मनाइँदैछ। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति प्रतिबद्धता जनाउँदै विभिन्न देशहरूमा विविध कार्यक्रम आयोजना गरिएका छन्। यस अवसरमा संयुक्त राष्ट्रसङ्घ को प्रधानकार्यालयमा विशेष स्मृतिसभा पनि आयोजना हुँदैछ।
दास व्यापार र दासत्वलाई मानव इतिहासको सबैभन्दा गम्भीर मानवअधिकार उल्लङ्घनको रूपमा लिँदै सन् २००६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले एक प्रस्ताव पारित गरेको थियो। सोही प्रस्तावअनुसार सन् २००७ मार्च २५ लाई यसको द्विशतवार्षिकीका रूपमा मनाउने घोषणा गरिएको थियो। त्यसपछि सन् २००८ देखि हरेक वर्ष मार्च २५ का दिन यस दिवसलाई औपचारिक रूपमा मनाउन थालिएको हो।
इतिहासअनुसार सन् १८०७ मा यही दिन बेलायतले दास व्यापार उन्मूलन ऐन पारित गर्दै अफ्रिकाबाट दास खरिद, बिक्री, साटासाट तथा स्थानान्तरणलाई गैरकानुनी घोषणा गरेको थियो। यो निर्णय दास प्रथाको अन्त्यतर्फको महत्वपूर्ण कदमका रूपमा लिइन्छ।