झापामा चैते धान रोपाइँ सुरु, किसान मकैखेतीतर्फ मोडिँदा क्षेत्रफल घट्ने अनुमान

mayukarajkumari

झापा,

झापा जिल्ला
मा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट रोपाइँ सुरु भएको कृषि प्राविधिकहरूले जनाएका छन् । यस वर्ष चैतको दोस्रो सातासम्म जिल्लाभर रोपाइँ सम्पन्न हुने अनुमान गरिएको छ ।

कृषि ज्ञान केन्द्र झापा का प्रमुख सागर विष्टका अनुसार परम्परागत खेती प्रणालीको सट्टा मेसिनको प्रयोग बढ्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा धान रोप्ने १० वटा ट्रान्सप्लान्टर मेसिन सञ्चालनमा रहेका छन् । कतै बीउ तयार भइसकेको छ भने कतै बीउ राख्ने काम जारी रहेको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती गरिएको भए पनि यस वर्ष किसानहरूको आकर्षण मकैखेतीतर्फ बढेकाले धानखेतीको क्षेत्रफल १५ देखि २० प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ । गत वर्ष चैते धानको मूल्य प्रतिमन (४० केजी) करिब रु ७०० मात्र रहेकाले किसानले अपेक्षित प्रतिफल नपाउँदा वैकल्पिक बाली रोज्न थालेको प्रमुख विष्टको भनाइ छ । बीउ आपूर्ति गर्ने कम्पनीहरूले समेत यस वर्ष अपेक्षाअनुसार बिक्री हुन नसकेको बताएका छन् ।

जिल्लामा विशेषगरी ‘हर्दिनाथ–१’ जातको धान बढी लगाइने भए पनि आरजु राइस मिल ले ‘हर्दिनाथ–६’ जातको धान प्रतिमन रु एक हजारमा खरिद गर्ने पूर्वसहमति गरेपछि किसानको चासो उक्त जाततर्फ पनि बढेको छ । बिक्री सुनिश्चितता र तुलनात्मक रूपमा राम्रो मूल्य पाइने भएपछि केही किसान नयाँ जाततर्फ आकर्षित भए पनि अधिकांशले अझै ‘हर्दिनाथ–१’ लाई नै प्राथमिकता दिएका छन् ।

यसैबीच कृषि ज्ञान केन्द्रको सहयोगमा जिल्लामा ‘छरुवा धान’ प्रविधिलाई पनि विस्तार गरिएको छ । उत्पादन राम्रो हुने भए पनि प्राविधिक व्यवस्थापनमा ध्यान नदिँदा झार नियन्त्रण चुनौतीपूर्ण हुने गरेको बताइएको छ । धानखेतीका लागि आवश्यक रासायिक मल भने जिल्लामा पर्याप्त रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया