हिंसाको लहरबीच मेक्सिकोमा जेल ब्रेक, फरार २३ कैदीको खोजी तीव्र

mayukarajkumari

मेक्सिकोको प्रशान्त तटीय सहर पुएर्टो भालार्टामा हिंसात्मक घटनाको लहरबीच जेलबाट भागेका २३ कैदीको खोजी तीव्र पारिएको छ। जलिस्को न्यू जेनेरेसन ड्रग कार्टेल (CJNG) का सदस्यहरूले सुरक्षा बलद्वारा आफ्ना नेता नेमेसियो ओसेगेरा सर्वान्तेस उर्फ “एल मेन्चो” मारिएपछि प्रतिशोधस्वरूप विभिन्न स्थानमा आक्रमण, सडक अवरोध र सवारी साधनमा आगजनी गरेका थिए। यही अशान्तिको क्रममा हतियारधारी समूहले गाडी ठोक्काएर जेलको मुख्य गेट तोड्दा कैदीहरू भाग्न सफल भएका हुन्।

घटनापछि भएको हिंसामा २५ राष्ट्रिय गार्डसहित ७० भन्दा बढी व्यक्तिको ज्यान गएको बताइएको छ। जलिस्को राज्यका सुरक्षा सचिव जुआन पाब्लो हेर्नान्डेजका अनुसार फरार कैदीहरूलाई पक्राउ गर्न विभिन्न राज्यका सुरक्षा निकायसँग समन्वय गरेर खोजी अभियान सञ्चालन भइरहेको छ। भागेका कैदीहरूको पहिचान भने अझै सार्वजनिक गरिएको छैन।

कार्टेल समूहले पुएर्टो भालार्टासहित विभिन्न सहरमा सवारी साधन जलाएर त्रास फैलाएका थिए। स्थानीय बासिन्दा र पर्यटकलाई घरभित्रै बस्न आग्रह गरिएको थियो भने केही विमान सेवा अस्थायी रूपमा स्थगित गरिएका थिए र क्रुज जहाजहरूले पनि तय गरिएको भ्रमण रद्द गरेका थिए। सरकारले अधिकांश सडक अवरोध हटाइएको जनाएको भए पनि केही क्षेत्रमा अझै तनाव कायम रहेको छ।

“एल मेन्चो” मेक्सिकोका सबैभन्दा खोजिएका लागूऔषध तस्करमध्ये एक थिए। उनको नेतृत्वमा CJNG शक्तिशाली अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल बनेको थियो। मेक्सिकन सुरक्षा बलले जलिस्को राज्यको तापाल्पामा उनलाई पक्राउ गरेपछि भएको भिडन्तमा गम्भीर घाइते भई उनको मृत्यु भएको जनाइएको छ।

प्रतिक्रिया