चैते दसैँमा बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढ्यो

mayukarajkumari

गलकोट (बागलुङ),

गण्डकी प्रदेशस्थित प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिर मा चैते दसैँको अवसरमा भक्तजनको भीड बढेको छ। नवदुर्गा सुरु भएयता मन्दिरमा दर्शन गर्न आउने श्रद्धालुहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। मङ्गलबारदेखि चैते दसैँ मेला पनि औपचारिक रूपमा सुरु भएको छ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काका अनुसार वडा दसैँको तुलनामा चैते दसैँमा अझ बढी भक्तजन आउने गरेका छन् र यस वर्ष विशेष गरी भीड बढेको देखिएको छ। शुक्रबारदेखि सुरु भएको नवदुर्गा पूजा नवमीसम्म निरन्तर चल्नेछ। चैते दसैँमा अष्टमीलाई सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ भने मुख्य दिन चैत १२ गते बिहीबार परेको छ।

मन्दिर परिसरमा तीन सय वर्षभन्दा अघिदेखि चैते दसैँको अवसरमा मेला लाग्दै आएको परम्परा छ। गुठी व्यवस्थापनपछि व्यापारिक स्टल, मनोरञ्जनात्मक गतिविधि र अन्य संरचना विस्तार गरी यस वर्ष पनि व्यवस्थित रूपमा मेला सञ्चालन गरिएको छ।

देशका विभिन्न स्थानबाट भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम जारी रहेको छ। प्रतिपदादेखि रामनवमीसम्म करिब १० लाख भक्तजन मन्दिरमा आउने अनुमान गरिएको छ। आगन्तुकहरूका लागि मेला, व्यापारिक स्टल र आवासको व्यवस्था मिलाइएको छ।

मेलाका अवसरमा कालिका कपअन्तर्गत खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछन्। साथै, गाउँघरका किसानहरूले वर्षभरि तयार पारेका काठ, बाँस, निगालो तथा हस्तकलाका सामग्रीहरू बिक्रीका लागि ल्याउने गरेका छन्।

इतिहासअनुसार विसं १५९१ देखि यस मन्दिरमा पूजा हुँदै आएको छ। किंवदन्तीअनुसार पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्वदेवीसँग विवाह गर्दा कालिका देवीलाई साथमा ल्याई यहाँ स्थापना गरिएको विश्वास गरिन्छ।

प्रतिक्रिया