पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

mayukarajkumari

काठमाडौँ,

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो धारणा राख्नुभएको हो।

अध्यक्ष घिसिङले कर्णालीको विकट भूगोलका कारण यहाँको जीवनयापन स्वभाविक रूपमा महँगो रहेको उल्लेख गर्दै इन्धनमा मूल्यवृद्धि गर्नु अनुपयुक्त हुने बताउनुभयो। “कर्णालीमा आवागमन र पर्यटक आगमनलाई सहज बनाउन डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनमा मूल्यवृद्धि गर्नु हुँदैन,” उहाँले भन्नुभयो। उहाँले छिमेकी देश भारतमा समेत इन्धनको मूल्य नबढेको सन्दर्भ उल्लेख गर्दै नेपाल सरकारले नागरिकमाथिको भार घटाउने नीति लिनुपर्नेमा जोड दिनुभयो।

सरकारलाई काम गर्ने वातावरण बनाउन आफ्नो पार्टी सकारात्मक रहने उल्लेख गर्दै उहाँले कर्णालीको विद्युतीकरण तथा प्रसारण लाइन विस्तारका लागि आफू नेपाल विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको दाबी गर्नुभयो। उहाँका अनुसार १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म विस्तार भइरहेको छ।

अध्यक्ष घिसिङले पार्टी गठनपश्चात छोटो समयमै चुनावमा जानुपरेको बाध्यताका कारण अपेक्षित परिणाम आउन नसकेको स्वीकार गर्नुभयो। तर आगामी चुनावमा उज्यालो नेपाल पार्टीलाई सशक्त रूपमा प्रस्तुत गर्दै वडा तहसम्म सङ्गठन विस्तार गरिने उहाँको भनाइ छ।

प्रतिक्रिया