काठमाडौँ ,
काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा चोरी भएर विदेश पुगेका तथा सङ्ग्रहालयमा राखिएका प्राचीन मूर्तिहरूलाई पुनः आफ्नै स्थानमा स्थापना गर्ने अभियानलाई तीव्रता दिएको छ। सोही अभियानअन्तर्गत विश्व सम्पदा दिवसको अवसर पारेर १३औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य मुद्रामा रहेको प्रस्तर मूर्ति पुनःस्थापना गरिएको छ।
उक्त मूर्ति राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा राखिएको थियो भने अहिले काठमाडौँ महानगरपालिका–२० स्थित मरु क्षेत्रको गःगुठी सूर्यमुखी महादेव मन्दिर परिसरमा यसको मूल आसनमा पुनःस्थापना गरिएको हो। मूर्ति ६८.५ सेन्टिमिटर उचाइ र ३०.५ सेन्टिमिटर चौडाइको रहेको जनाइएको छ।
मूर्ति फिर्ता ल्याउने कार्यमा कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गत, वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धर, सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ र अधिवक्ता सञ्जय अधिकारीको सक्रिय सहभागिता रहेको थियो। राष्ट्रिय सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मी, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजिमान प्याकुरेल, सङ्ग्रहालय अधिकृत सुवासकृष्ण डङ्गोल तथा पुरातत्व विभागकी अधिकृत अमृता महर्जनको उपस्थितिमा मूर्ति हस्तान्तरण गरिएको हो।
कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले काठमाडौँको सांस्कृतिक पहिचान जोगाउनु महानगरको प्रमुख दायित्व रहेको बताउँदै यस्ता कार्यलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
उक्त मूर्ति विगतमा चोरी भई लण्डन पुगेको थियो। पछि बेलायतस्थित नेपाली दूतावासमार्फत फिर्ता ल्याइएपछि पुरातत्व विभागले २०५२ साल चैत २९ गते राष्ट्रिय सङ्ग्रहालयमा सुरक्षित राखेको थियो।
हरेक वर्ष अप्रिल १८ तारिखलाई विश्व सम्पदा दिवसका रूपमा मनाइन्छ। इन्टरनेसनल काउन्सिल अन मोनुमेन्ट्स एन्ड साइट्स (ICOMOS) को पहलमा सन् १९८२ मा प्रस्ताव गरिएको यो दिवसलाई युनेस्कोले १९८३ मा औपचारिक मान्यता दिएको हो। नेपालमा भने सन् २०१० देखि यस दिवसलाई औपचारिक रूपमा मनाउँदै आइएको छ।