वन्यजन्तु हेर्न चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक वृद्धि

mayukarajkumari

चितवन, 

चालु आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ। निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको सङ्ख्या यस वर्ष १२ हजार ४१२ ले वृद्धि भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३ पर्यटक निकुञ्ज भ्रमण गरेका थिए भने यस वर्ष एक लाख ६८ हजार ६९५ पर्यटकले भ्रमण गरेका छन्। निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार फागुन मसान्तसम्ममा एक लाख चार हजार ९६ जना नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए, जुन गत वर्षको ८१ हजार २४६ भन्दा बढी हो।

यस्तै, सार्क मुलुकबाट नौ हजार ५४४ र अन्य देशबाट ५५ हजार ५५ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। गत वर्ष यो संख्या क्रमशः १४ हजार २०७ र ६० हजार ८३० थियो।

निकुञ्जमा पर्यटक मुख्यतः एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडीयाल गोहीलगायत वन्यजन्तु र चराचुरुङ्गी हेर्न आउँछन्। चालु आवमा निकुञ्जले कुल रु १७ करोड ५७ लाख ५६ हजार ३२५ राजस्व सङ्कलन गरेको छ।

राजस्वमा काठ-दाउरा बिक्रीबाट रु ७१ हजार ३५०, गैरकाठ वन पैदावर बिक्रीबाट रु ७० लाख ६८ हजार ७६६, पर्यापर्यटनबाट रु १६ करोड ६३ लाख २४ हजार १००, दण्ड सजायबाट रु ७ लाख ५९ हजार ७०४ र अन्य शीर्षकबाट रु १५ लाख २२ हजार ४०५ सङ्कलन भएको अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया