भोजपुरमा किसान चैतेधान रोप्न व्यस्त, सांस्कृतिक सम्पदा संरक्षणमा पनि पहल

mayukarajkumari

भोजपुर,

भोजपुरका ग्रामीण क्षेत्रका किसान यतिबेला चैतेधान रोपाइँमा व्यस्त भएका छन्। हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेपछि किसानहरू खेतमा व्यस्त देखिएका हुन्। जिल्लाका हतुवागढी गाउँपालिका, अरुण गाउँपालिकाषडानन्द नगरपालिका लगायत सिँचाइ सुविधा भएका फाँटहरूमा अहिले रोपाइँको चहलपहल बढेको छ।

समयमै रोपाइँ गर्दा उत्पादन राम्रो हुने विश्वासका साथ किसान बिहानदेखि बेलुकासम्म खेतमा खटिएका छन्। हतुवागढी गाउँपालिका–२ का किसान जयबहादुर थापाका अनुसार चैतेधान छोटो अवधिमा पाक्ने भएकाले वर्षे धानभन्दा छिट्टै आम्दानी लिन सकिन्छ। यसले घरायसी उपभोगसँगै अतिरिक्त आम्दानीको स्रोतसमेत बढाएको उनले बताए।

कावाखोला किनार क्षेत्रमा राजा–१२, बिजी र तौली जातका हिउँदे धानको खेती पनि हुँदै आएको छ। फागुन अन्तिमदेखि चैत अन्तिमसम्म रोपाइँ गरिने यस्तो धान असार अन्तिमदेखि साउनको पहिलो सातासम्म भण्डारणयोग्य हुने किसानहरू बताउँछन्। थापाका अनुसार आफूले हरेक वर्ष ४५ देखि ५० मुरीसम्म हिउँदे धान उत्पादन गर्दै आएका छन्।

यद्यपि, पर्याप्त सिँचाइको अभाव, मलखादको कमी तथा श्रमिक अभावका कारण किसानहरूले समस्या भोगिरहेका छन्। सिँचाइ सुविधा नपुगेका क्षेत्रमा रोपाइँ ढिलो हुने अवस्था रहेको छ। कृषि ज्ञान केन्द्र भोजपुर का अनुसार जिल्लामा करिब १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ भने यस वर्ष ३६ हजार ९९८ मेट्रिक टन धान उत्पादन भएको छ।

यसैबीच, भोजपुरको घोडेटार क्षेत्रमा स्थानीय संस्कृति संरक्षणका लागि पहल थालिएको छ। हतुवागढी गाउँपालिका–१ ले परम्परागत संस्कार जोगाउन ‘देवाली थान’ संरक्षणको काम अघि बढाएको हो। वडाध्यक्ष कुमार विष्टका अनुसार पुस्तौँदेखि चल्दै आएको सांस्कृतिक परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले संरक्षण कार्यलाई प्राथमिकता दिइएको छ।

गाउँपालिका र वडा कार्यालयको सहकार्यमा विभिन्न आर्थिक वर्षमा गरी करिब चार लाख ५० हजार रुपैयाँ लागतमा उक्त थान संरक्षण गरिएको छ। संरक्षणपछि पूजा–आराधना गर्न सहज भएको स्थानीयवासीहरूको भनाइ छ। यसबाट करिब एक सय बस्नेत परिवार प्रत्यक्ष लाभान्वित भएका छन्।

स्थानीय तहका अनुसार आधुनिकता र तीव्र बसाइँसराइका कारण परम्परागत संस्कार हराउँदै जान थालेपछि यस्ता सांस्कृतिक धरोहरहरूको संरक्षणमा विशेष ध्यान दिइएको हो। गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले यस्ता कार्यक्रमले संस्कृति जोगाउनुका साथै स्थानीय आर्थिक तथा पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया