काठमाडौँ,
सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन यातायातमा जोर–बिजोर प्रणाली लागू गर्ने संकेत गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको एक मन्त्रीले जानकारी दिएका छन्। बैठकपछि निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल ले पछिल्लो समय बढ्दो इन्धन संकट र आर्थिक भारलाई सम्बोधन गर्न विशेष नीतिगत कदम लिएको बताइन्।
उनका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ। साथै, इन्धन खपत घटाउन आइतबार सार्वजनिक बिदा दिने, सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने र ईभी (विद्युतीय सवारी) तथा इथानोलको प्रयोग बढाउने नीति अघि सारिएको छ।
मन्त्री रावलले पछिल्लो १५ दिनमा मात्र नेपाल सरकारलाई करिब ११ अर्ब ७२ करोड रुपैयाँ घाटा भएको तथ्याङ्क प्रस्तुत गर्दै यी कदम आवश्यक रहेको स्पष्ट पारिन्।