भोजपुर,
केही समयअघिसम्म सामान्य रूपमा कफीका बोट मात्रै देखिने भोजपुरमा अहिले व्यावसायिक कफीखेती तीव्र रूपमा विस्तार भइरहेको छ । बजारसम्म सहज पहुँच स्थापित भएसँगै यहाँका किसान कफीलाई मुख्य आम्दानीको स्रोत बनाउँदै व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । उत्पादन भएको कफी घरबाटै बिक्री हुन थालेपछि किसानलाई बजार खोज्नुपर्ने झन्झट घटेको छ भने आम्दानीसमेत उल्लेख्य रूपमा बढेको छ ।
जिल्लाको हतुवागढी गाउँपालिकाका सिन्द्राङ, होम्ताङ, लुङ्गिन र लुङ्थुङ, रामप्रसादराई गाउँपालिकाका खोक्सिक, आमचोक गाउँपालिका, पौवादुङमा गाउँपालिका तथा षडानन्द नगरपालिकालगायत क्षेत्रमा कफीखेती विस्तार हुँदै गएको छ । यी क्षेत्रको माटो, हावापानी र भौगोलिक बनावट कफी उत्पादनका लागि उपयुक्त मानिन्छ ।
कफीखेती प्रवर्द्धनका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब रु तीन करोड ३० लाख बराबरको कार्यक्रम सञ्चालन भइरहेको सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । उहाँका अनुसार उपयुक्त क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा खेती विस्तार भइरहेको छ । नगरपालिकाका सबै १४ वटै वडामा कफी प्रवर्द्धन कार्यक्रम सञ्चालनमा छन् ।
रामप्रसादराई गाउँपालिका–८ खोक्सिकमा किसानले २२ रोपनी क्षेत्रफलमा सामूहिक कफीखेती सुरु गरेका छन् । परम्परागत रूपमा मकै, आलुजस्ता बालीमा निर्भर किसान अहिले आयमूलक तथा निर्यातमुखी खेतीतर्फ उन्मुख भएका हुन् । स्थानीय कृषक मनोज राईका अनुसार खोक्सिका कफी उत्पादनका लागि उपयुक्त भूगोल भएको र अन्य बालीको तुलनामा कफीबाट राम्रो आम्दानी लिन सकिन्छ ।
यहाँ उत्पादन भएको कफी धरान, इटहरी, विराटनगर र काठमाडौँ हुँदै विदेशसम्म निर्यात हुँदै आएको स्थानीय व्यवसायीको भनाइ छ । विशेषगरी अर्गानिक कफीको अन्तरराष्ट्रिय बजारमा राम्रो माग रहेको बताइएको छ । पछिल्लो समय उत्पादन वृद्धि भएसँगै निर्यात मात्रा पनि बढ्दै गएको कफी व्यवसायी सुनील श्रेष्ठले जानकारी दिनुभयो । किसानका अनुसार राम्रोसँग हुर्किएको कफीको एक बोटबाट २५ देखि ३० केजीसम्म उत्पादन लिन सकिन्छ ।
कफीखेती विस्तारसँगै किसानको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको कृषि अर्थतन्त्रलाई समेत सुदृढ बनाउने विश्वास स्थानीय जानकारले व्यक्त गरेका छन् ।