पोखरामा आत्मकथा बेच्दै नवनिर्वाचित सांसद महावीर पुन

mayukarajkumari

म्याग्दी, 

म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुन चुनाव जितेलगत्तै आफ्नो आत्मकथा पुस्तक बिक्री गर्न पोखरा पुग्नुभएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेर ठूलो मतान्तरसहित विजयी हुनुभएका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत विभिन्न स्थानमा पुगेर आफ्नै पुस्तक बिक्री गर्नुभएको हो।

पुनका अनुसार एकैदिनमा करिब आठ सय पुस्तक बिक्री भएको छ। पुस्तक बिक्रीबाट करिब छ लाख रुपैयाँ आम्दानी भएको उहाँले बताउनुभयो। बढ्दो मागका कारण थप पुस्तक बिक्रीका लागि काठमाडौँबाट अन्य प्रतिहरू मगाइएको उहाँको भनाइ छ। पोखरामा पुनसँग फोटो खिच्ने र हस्ताक्षरसहित पुस्तक किन्नेहरूको भिड लागेको थियो।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुनले वीरगञ्जमा कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले तीन वर्षदेखि आफ्नो आत्मकथा पुस्तक लेखेर बिक्री गर्दै आउनुभएको छ। उक्त अभियानमार्फत संकलित रकमलाई देशमै उत्पादन र नवप्रवर्तनको काममा लगानी गर्ने योजना रहेको उहाँले बताउनुभएको छ।

अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका पुनले सो पदबाट राजीनामा दिएर जन्मथलो म्याग्दीमा प्रतिनिधिसभा चुनाव लड्नुभएको थियो। जेनजी आन्दोलन अघि पनि उहाँ देशका विभिन्न स्थानमा पुगेर आफ्नो पुस्तक बिक्री गर्दै आउनुभएको थियो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारमा पुन करिब चार महिना शिक्षामन्त्री रहनुभएको थियो। चुनाव जितेपछि समर्थकलाई तडकभडकसहित विजयउत्सव नगर्न आग्रह गर्दै उहाँ फेरि आफ्नो पुरानो दिनचर्यामा फर्कनुभएको हो।

निर्वाचनमा पुनले २२ हजार ८५० मत प्राप्त गरी विजयी हुनुभएको थियो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले सात हजार ९१० मत पाउनुभयो भने नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ६७६ मत प्राप्त गर्नुभयो। निर्वाचन आयोगले अझै सबै परिणाम सार्वजनिक गरिनसकेको अवस्थामा फुर्सदको समय सदुपयोग गर्दै पुस्तक बिक्री गर्न निस्किएको पुनले बताउनुभयो।

प्रतिक्रिया