चितवनका एभोकाडो बगैँचामा पहिलो पटक खटिराजन्य रोग देखियो

mayukarajkumari

चितवन, 

चितवन जिल्लामा व्यावसायिक रूपमा लगाइएको एभोकाडो खेतीमा क्याङ्कर (खटिराजन्य) रोगको समस्या देखिएको छ। जिल्लाको पूर्वी तथा पश्चिमी क्षेत्रमा रहेका एभोकाडो बगैँचामा पहिलो पटक उक्त रोग देखिएको कृषि प्राविधिकहरूले बताएका छन्।

कृषि विकास कार्यालय चितवनका अनुसार ढुसीजन्य कारणबाट फैलिने यस रोगको सङ्क्रमण देखिएपछि नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। कार्यालयकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानले हाल जिल्लामा पहिलो पटक यस्तो समस्या देखिएको जानकारी दिँदै रोग नियन्त्रणका उपाय अपनाउन किसानलाई आग्रह गर्नुभएको छ।

उहाँका अनुसार ‘फाइटोप थेरा मेनेङ्गी’ नामक जीवाणुका कारण लाग्ने यो रोग माटो र पानीमार्फत सर्ने गर्दछ। रोग लागेका बोटमा सुरुमा हाँगा सुक्न थालेको जस्तो देखिने, विस्तारै बोट कमजोर हुँदै अन्ततः मर्ने जोखिम रहने बताइएको छ।

बगैँचामा सिँचाइ गर्दा पानी सिधैँ बोटमा नपुग्ने गरी व्यवस्थापन गर्न, बोटमा घाउ वा खटिरा देखिएमा बोडोपेष्ट प्रयोग गर्न तथा बगैँचा सरसफाइमा विशेष ध्यान दिन अधिकृत चौहानले सुझाव दिनुभएको छ। साथै घाउचोट कम लगाउने र आवश्यक परे ढुसिनाशक औषधि प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ।

हाल चितवनमा करिब ६ दशमलब ५ हेक्टर क्षेत्रफलमा एभोकाडो खेती हुँदै आएको छ। उक्त क्षेत्रबाट वार्षिक करिब ५१ मेट्रिकटन उत्पादन भइरहेको कार्यालयले जनाएको छ। पछिल्ला केही वर्षयता जिल्लामा एभोकाडो खेती विस्तार हुँदै गएको छ।

प्रतिक्रिया