महेन्द्रनगर,
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मधेस प्रदेश कार्यालयले यस वर्ष महोत्तरी र धनुषा जिल्लाका किसानबाट ११ हजार ६६५ क्विन्टल धान खरिद गरेको जनाएको छ । तीन महिनाको अवधिमा गरिएको खरिदमार्फत किसानलाई प्रत्यक्ष रूपमा राहत पुगेको कार्यालयले जनाएको हो ।
कार्यालयका अनुसार जनकपुरधामस्थित प्रादेशिक कार्यालयमार्फत करिब ३०० किसानबाट रु चार करोड २३ लाख २४ हजार बराबरको धान खरिद गरिएको हो । प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसाका दरले धान खरिद गरिएको र गोदाम भरिएपछि हाल धान खरिद कार्य रोकिएको प्रादेशिक प्रमुख निर्मल थापाले जानकारी दिनुभयो ।
गत मङ्सिर २८ गतेदेखि सुरु गरिएको धान खरिद कार्यक्रममा धनुषा जिल्ला र महोत्तरी जिल्लाका ठूलो सङ्ख्यामा किसान सहभागी भएका थिए । बजार मूल्यभन्दा सरकारी खरिद मूल्य बढी रहेकाले किसानको आकर्षण बढेको सहायक प्रबन्धक गङ्गाप्रसाद साहले बताउनुभयो ।
कम्पनीले प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्दै आएको थियो भने स्थानीय तहको सिफारिसमा केही किसानबाट ५५ क्विन्टलसम्म धान खरिद गरिएको जनाइएको छ । धानको भुक्तानी सरकारले सिधै किसानको बैंक खातामा पठाउने व्यवस्था गरिएको छ । यस वर्ष १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिए पनि भण्डारण क्षमता अभावका कारण लक्ष्य पूरा हुन नसकेको कार्यालयले जनाएको छ । खरिदअघि गुणस्तर परीक्षण गरी गुणस्तरीय धान मात्र खरिद गरिएको गुणस्तर शाखाले जनाएको छ ।