पर्वत,
पर्वत जिल्लाका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिन थालेपछि किसानहरू चिन्तित बनेका छन्। सदरमुकाम आसपासका क्षेत्रमा गरिएको प्रारम्भिक परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको छ। जिल्लामा हालसम्म उक्त रोगका कारण ४६ वटा बङ्गुर मरेको जानकारी भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतले दिएको छ।
कार्यालयका अनुसार कुश्मा नगरपालिका आसपासका केही बङ्गुरमा ज्वरो आउने, कान, पुच्छर तथा पेटको तल्लो भाग निलो देखिने, खाना नखाने र अचानक मृत्यु हुने जस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो। सङ्कलित नमूनामा गरिएको ¥यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिनुभयो। थप पुष्टि गर्न नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखरा पठाइएको उहाँले बताउनुभयो।
रोग फैलिन नदिन प्रभावित क्षेत्रहरूमा अनुगमन बढाइएको कार्यालयले जनाएको छ। किसानहरूलाई बङ्गुर फार्म सफा राख्न, नियमित रूपमा चुन, ब्लिचिङ पाउडर, फर्मालिनलगायतका औषधि प्रयोग गरी निसङ्क्रमण गर्न र फार्ममा जैविक सुरक्षा अपनाउन आग्रह गरिएको छ। साथै बिरामी बङ्गुरलाई अन्य स्वस्थ बङ्गुरबाट अलग राख्न समेत सुझाव दिइएको छ।
त्यसैगरी, शङ्कास्पद अवस्थामा बङ्गुरको नमूना प्रयोगशालामा परीक्षण गराउन, मरेका बङ्गुरलाई गहिरो खाडल खनेर गाड्न वा जलाउन र घरपालुवा बङ्गुरलाई जङ्गली बङ्गुरसँग सम्पर्क हुन नदिन किसानहरूलाई सचेत गराइएको छ। होटल वा भान्साबाट निस्कने फोहर बङ्गुरलाई खुवाउन नहुने समेत कार्यालयले जनाएको छ।
पर्वत जिल्लामा ४० भन्दा बढी व्यावसायिक बङ्गुर फार्म सञ्चालनमा रहेका छन्। हाल सदरमुकाम आसपासका क्षेत्रमा रोग पुष्टि भएको र समयमै सतर्कता नअपनाए अन्य स्थानमा पनि सङ्क्रमण फैलिन सक्ने जोखिम रहेको भन्दै कृषकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।