काठमाडौँ महानगरपालिकाद्वारा प्रसूति अस्पतालमा दुई करोडको फोहर व्यवस्थापन अनुदान

mayukarajkumari

काठमाडौँ,

काठमाडौँ महानगरपालिका
ले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल मा अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ। यसका लागि महानगरपालिका र अस्पतालबीच आज सहकार्य सम्झौता सम्पन्न भएको छ।

सम्झौतापत्रमा महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारी ले हस्ताक्षर गर्नुभएको थियो। उक्त अवसरमा कार्यवाहक प्रमुख सुनिता डङ्गोल तथा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ को उपस्थिति रहेको थियो।

सम्झौताअनुसार अस्पतालबाट उत्पादन हुने हानिकारक फोहरसँगै महानगरपालिकाले सञ्चालन गरेका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निस्कने फोहरसमेत सोही प्लान्टमार्फत व्यवस्थापन गरिनेछ। महानगरपालिकाले उपलब्ध गराउने अनुदान रकम उपकरण खरिद तथा फोहर व्यवस्थापनस्थलमा आवश्यक संरचना निर्माणका लागि प्रयोग गरिने जनाइएको छ। उक्त सम्झौता चालु आर्थिक वर्षको असार १५ गतेसम्म मान्य रहनेछ।

सम्झौतापछि कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौँमा हानिकारक फोहर व्यवस्थापन प्लान्ट सञ्चालनका लागि उपयुक्त स्थानको अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमा मापदण्डअनुसारका प्रशोधन प्लान्ट सञ्चालन गरी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। यस सम्झौताबाट अस्पताल र महानगरपालिका दुवैलाई लाभ पुग्ने उहाँको भनाइ थियो।

प्रतिक्रिया