काठमाडौं,
आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने बिस्केट जात्राको सातौँ दिन बिहीबार एक ऐतिहासिक दृश्य देखिएको छ। यस वर्ष पहिलोपटक महिलाहरूले मात्रै नकिजु अजिमा (भद्रकाली)को दुईतले रथ तानेर नयाँ इतिहास कायम गरेका छन्।
यसअघि हरेक वर्ष पुरुषहरूले मात्र तान्दै आएको उक्त रथ यस पटक भने जात्रा व्यवस्थापन समितिको आह्वानमा महिलाहरूले तानेका हुन्। पाँचतले मन्दिरबाट सुरु भएको रथयात्रामा हजारौँ महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसले जात्रालाई थप आकर्षक र उत्साहजनक बनाएको थियो।
वैशाख १ गते ल्यासिंखेलमा लिङ्गो ढालेपछि भैरव र भद्रकालीको रथलाई तानेर गःहिटीमा जुधाउने परम्परा अनुसार यो जात्रा मनाइँदै आएको छ। सोही क्रममा बिहीबार ब्रम्हायणी र महेश्वरीको तिप्वा जात्रामा खट जुधाउने कार्यक्रम पनि सम्पन्न गरिएको छ।
जात्राको आठौँ दिन शुक्रबार सुगन जात्रा मनाउने प्रचलन रहेको छ। यस दिन स्थानीय बासिन्दाहरूले विभिन्न देवीदेवताका मन्दिरमा गई सगुन चढाएर पूजा गर्ने गर्दछन्। त्यसैगरी, नवौँ तथा अन्तिम दिन वैशाख ५ गते भैरवको रथ तानेर बिस्केट जात्रा विधिवत् रूपमा सम्पन्न गरिनेछ।