जन्म र मृत्यु संस्कारमा निःशुल्क खाद्यान्न वितरण प्रभावकारी, स्थानीयबासी खुशी

mayukarajkumari

मुगु, 

नेपाल सरकारले साविक कर्णालीका नागरिकलाई जन्म तथा मृत्यु संस्कारका अवसरमा निःशुल्क खाद्यान्न उपलब्ध गराउने कार्यक्रम पछिल्लो समय प्रभावकारी बन्दै गएको छ। यस कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति ३० केजी चामल उपलब्ध गराइँदा स्थानीयबासीलाई सामाजिक संस्कार सम्पन्न गर्न सहज भएको बताइएको छ।

साबिक कर्णाली अञ्चलअन्तर्गतका मुगु, कालिकोट, डोल्पा, जुम्ला र हुम्ला जिल्लामा यो कार्यक्रम लागू हुँदै आएको छ। सरकारले प्रत्येक आर्थिक वर्षमा तोकिएका वितरण केन्द्रमार्फत आवश्यक प्रमाणपत्रका आधारमा जन्म वा मृत्यु भएका परिवारलाई चामल वितरण गर्दै आएको छ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले २०७३ भदौ २३ गते संसदमा सम्बोधन गर्दै कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि प्रतिव्यक्ति २० किलो चामल उपलब्ध गराउने घोषणा गरेका थिए। उक्त घोषणा फागुन १ गतेदेखि कार्यान्वयनमा आएको थियो। पछि आर्थिक वर्ष २०८१/०८२ मा सरकारले थप १० केजी खाद्यान्न बढाएर प्रतिव्यक्ति ३० केजी पुर्‍याएको हो।

दूरीका आधारमा ढुवानी खर्चसमेत व्यवस्था गरिएकाले कार्यक्रमबाट स्थानीयबासी लाभान्वित भएका छन्। “मान्छे जन्मिँदा र मृत्यु हुँदा सरकारबाट निःशुल्क खाद्यान्न पाउँदा धेरै सहयोग पुगेको छ,” मुगुको छायाँनाथ रारा नगरपालिका–१२ बामका पुतसिंह बढुवालले बताए।

यद्यपि, आवश्यक कागजपत्र मिलाउन भने केही समस्या हुने गरेको स्थानीयबासीले बताएका छन्। सोरु गाउँपालिका–८ की रामदेबी नेपालीले कागजात संकलन गर्न झन्झटिलो प्रक्रिया भएकाले कहिलेकाहीँ कठिनाइ हुने गरेको गुनासो गरिन्।

सरकारले आर्थिक वर्ष २०७३/०७४ देखि साविक कर्णालीका पाँच जिल्लाका नागरिकलाई निःशुल्क खाद्यान्न वितरण गर्दै आएको छ। स्थानीय तह र सम्बन्धित निकायको सहकार्यमा सञ्चालन भइरहेको यो कार्यक्रमलाई कर्णालीका बासिन्दाले सामाजिक संस्कारमा सहयोग पुर्‍याउने महत्वपूर्ण पहलका रूपमा लिएका छन्।

प्रतिक्रिया